चीनबाट फर्किए ओली : भूराजनीतिक सन्तुलन र राष्ट्रिय हितको खोजी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली भदौ १४ देखि १८ गतेसम्म ५ दिने चीनको भ्रमण पूरा गरेर बुधबार राति स्वदेश फर्किएका हुन् ।

भ्रमणका क्रममा उनले सांघाई सहयोग संगठन (एससीओ) को २५ औं शिखर सम्मेलनमा भाग लिनुका साथै विभिन्न महत्वपूर्ण द्विपक्षीय भेटघाट गरेका छन्, जसले नेपालको भूराजनीतिक चासो र अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ आयाम थपेको छ ।

चीनको तियानजिन सहरमा भदौ १५ र १६ गते आयोजित एससीओ शिखर सम्मेलनमा नेपालको सहभागितालाई परराष्ट्र सचिव अमृत राईले राष्ट्रिय हित प्रवर्द्धनको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन् । यद्यपि, भ्रमण विवादरहित भने रहेन । चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालले चीनको ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई)’ लाई समर्थन गरेको दाबी गरिएपछि यसले नेपालमा भूराजनीतिक बहस छेड्यो ।

परराष्ट्र सचिव राईले भने नेपालले चीनको ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’ लाई मात्र समर्थन गरेको र सुरक्षा रणनीतिमा समर्थन नगरेको स्पष्ट पारेका छन् । उनले ‘नेपाल सरकारको नीति जे छ, त्यही कायम हुन्छ’ भन्दै यस विषयमा थप स्पष्टता प्रदान गरेका छन् ।

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शनिबार तियानजिनमा भएको द्विपक्षीय वार्तामा नेपालले लामो समयदेखि उठाउँदै आएको लिपुलेक नाकाबाट व्यापार गर्ने भारत र चीनबीचको समझदारीप्रति आपत्ति जनाएको छ । परराष्ट्र सचिव राईका अनुसार प्रधानमन्त्री ओलीले उक्त समझदारी कार्यान्वयन नगर्न राष्ट्रपति सीलाई अनुरोध गरेका छन्, जसलाई नेपालको भूभाग र सार्वभौमिकताको रक्षाका लागि गरिएको महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिबाहेक रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि द्विपक्षीय भेटवार्ता गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले पुटिनलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी परराष्ट्र सचिव राईले गराएका छन् । दुई नेताबीच व्यापार, लगानी, शिक्षा, संस्कृति र हवाई सम्पर्कका क्षेत्रमा सम्बन्ध सुदृढ पार्ने विषयमा छलफल भएको थियो । यसका अतिरिक्त, प्रधानमन्त्रीले लाओसका र माल्दिभ्सका राष्ट्रपति तथा भियतनाम र कम्बोडियाका प्रधानमन्त्रीहरूसँग पनि भेटवार्ता गरेका छन् ।

तियानजिनपछि प्रधानमन्त्री ओली भदौ १७ गते बेइजिङ पुगेका थिए । बेइजिङमा उनले चिनियाँ उपराष्ट्रपति हान चङ्गसँग द्विपक्षीय भेट गरी नेपाल-चीन सम्बन्धका विविध पक्षमा छलफल गरे । भदौ १८ (सेप्टेम्बर ३) मा जापानी अतिक्रमणविरुद्ध चिनियाँ युद्ध तथा विश्व फासिस्टवाद विरोधी युद्ध विजयको ८० औं वार्षिकोत्सव समारोहमा सहभागी भएर सोही दिन स्वदेश फर्किए ।

परराष्ट्र सचिव राईले प्रधानमन्त्रीको यस भ्रमणबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको बताएका छन् । भ्रमण दलमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, शिक्षा मन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्री पाण्डे र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा लगायत उच्च अधिकारीहरू सहभागी थिए । यद्यपि, चीनबाट फर्किएपछि प्रधानमन्त्री ओलीले पत्रकारहरूसँग प्रत्यक्ष साक्षात्कार भने गरेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + sixteen =