नागरिकता विधेयक : राष्ट्रिय सभाबाट पठाएको संशोधन प्रश्ताव प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक , २०८१ माथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत गरेको छ ।

सभाको बुधवारको बैठकले राष्ट्रिय सभाबाट आएको संशोधनलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१माथि विचार गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गरेका थिए ।

छलफल सहभागि हुँदै सांसदहरुले विधेयक पास भएपछि नागरिकता प्राप्तिका क्रममा नागरिकले भोग्नुपरेका विद्यमान समस्याहरु हटेर जाने विश्वास व्यक्त गरे । आमाको नामबाट नागरिकता पाउने व्यवस्थाले पहिचान नभएका तथा बाबुले असहयोग गरेका सन्तानलाई राहत मिल्ने उनीहरुको विश्वास छ ।

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधेयकलाई महिलाको सम्मानसँग जोड्दै यसको समर्थन गरे ।

उनले यो विधेयकले नागरिकसम्बन्धी नागरिकले भोग्दै आएका सबै प्रकारका कानूनी अप्ठ्याराहरु अन्त्य गर्ने विश्वास व्यक्त गरे । ‘यो विधेयकले राष्ट्रका धेरै समस्याहरुलाई समाधान गर्दैछ । यसका लागि सरकार र मन्त्रीलाई धन्यावाद दिन चाहन्छु । नागरिकता प्राप्तिको अधिकार हुँदाहुँदै पनि त्यो अधिकारबाट वञ्चित नागरिकले यो विधेयक पास भएपछि सहजता महशुस गर्नेछ । आामा र बुबा दुवै नामबाट नागरिकता पाउने विश्वव्यापी मान्यता जुन नेपाल सरकारले पनि अपनाउन शुरु गरेको छ’ उनले भने ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले पनि विधेयकको समर्थन गर्नुभयो । उनले विधेयकले महिलाको सम्मान गरेको बताए । उनले संविधानमा व्यवस्था भएपनि व्यवहारमा लागू नभएका कारण नागरिकले भोग्नुपरेको दुःखको यस विधेयकले अन्त्य गर्ने विश्वस व्यक्त गरे ।

बालबालिकालाई परिचयपत्र दिने व्यवस्था पनि विधेयकको महत्वपूर्ण विषय भएको उनको भनाइ छ । ‘यो विधेयकको सबैभन्दा महत्वपूर्ण विषय भनेको महिलाको सम्मान हो । हाम्रो समाजमा रहेको ठूलो समस्याको समाधान यस विधेयकले गरेको छ । यसअघि संविधानमा व्यवस्था भएपनि कानूनमा नलेखिएको भन्दै नागरिकले जुन दुःख पाउने गर्नुभएको थियो । त्यो समस्याको समाधान यो विधेयकले गरेको छ । नाबालकहरुलाई पनि परिचयपत्र दिने जुन विषयवस्तु छ यो पनि महत्वपूर्ण विषय हो । रेकर्ड पनि हुने र पछि समस्या पनि नहुने कुरा स्वागतयोग्य रहेको छ । म यो विधेयकको समर्थन पनि गर्दछु’ उनले भने ।

सरकारले आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्न नागरिकता ऐन संशोधन गर्नको लागि विधेयक ल्याएको हो ।

विधेयक पास भइसकेपछि बाबुले असहयोग गरेका तथा पहचिान नै नभएका नागरिकले समेत आमाको नामबाट मात्रै पनि नागरिकता पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =