प्रधानमन्त्री ओली चीन भ्रमण सकेर स्वदेश प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक चीन भ्रमण सकेर आज स्वदेश प्रस्थान गरेका छन् ।
गत शनिबारदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्किएका हुन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार प्रधानमन्त्री ओली आज साँझ साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन गएका थिए । सम्मेलनमा सहभागी रहने क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत नेताहरूसँग द्वीपक्षीय भेटवार्ता गरेका थिए ।
सम्मेलनकै अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि कुराकानी गरेका थिए । यद्यपि ओली र मोदीबीच औपचारिक द्वीपक्षीय बैठक भने भएको थिएन ।









