मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छ : एमाले नेता थपलिया

काठमाडौं । नेकपा एमाले वागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले देशको कार्यकारी पद अर्थात मुख्यमन्त्री र प्रधानमन्त्री पदमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रश्ताव अघि बढाएका छन् ।
उनले यो व्यवस्था संविधानमै सुनिश्चित गर्न आवश्यक रहेको धारणा राखे । थपलियाले प्रत्यक्ष निर्वाचन प्रणालीले सरकारलाई पाँच वर्षसम्म ढुक्कसँग काम गर्ने वातावरण दिन्छ र जनतासँगको अपनत्व पनि बढाउँछ भन्ने विश्वास व्यक्त गरे ।
सरकार स्थिर रहनसक्यो भने विकास निर्माणका कुराहरू पनि निरन्तर रूपमा अघि बढ्नसक्ने बताए । त्यसैले अब संविधानमै आवश्यक संशोधन गरेर यस्तो प्रणालीमा जानुपर्ने बेला आएको उनको भनाइ छ ।
थपलियाले अहिलेको राजनीतिक प्रणालीमा सरकार ढल्ने, समर्थन फिर्ता हुने र बारम्बार सत्ता परिवर्तन हुने क्रमले विकासको गति अवरुद्ध भएको उल्लेख गरे ।
प्रत्यक्ष निर्वाचन प्रणालीबाट जनप्रतिनिधि आउँदा जनताले आफैंले चुनेको नेतृत्वसँग प्रत्यक्ष रूपमा हिसाव—किताव माग्नसक्ने वातावरण बन्ने भन्दै उनले उक्त प्रणाली लोकतान्त्रिक अभ्याससँग पनि मेल खाने बताए ।
उनले पार्टीभित्र देखिएको आन्तरिक बहस स्वाभाविक प्रक्रिया भएको बताए ।








