आदिल आलम: हेलिकोप्टर सट खेल्ने कौशल बोकेका खेलाडी (भिडिओ)

काठमाडौं । भारतको गुवाहाटीमा सम्पन्न ५ खेलको टी–२० सिरिजमा नेपाल ‘ए’ टिमले घरेलु आसाम टिमलाई ३–२ ले हराउँदै श्रृंखला आफ्नो पक्षमा पार्न सफल भयो । यो जितले नेपाली क्रिकेटको बेन्च स्ट्रेन्थ अर्थात् ब्याकअप खेलाडीहरूको क्षमतामा आशा पलाएको छ ।

विशेषतः केही खेलाडीले यस सिरिजमा यस्तो प्रदर्शन गरे कि उनीहरू अब राष्ट्रिय टिममा पुनः प्रवेशको पर्खाइमा छन् । तीमध्ये एक हुन् अलराउन्डर आदिल अन्सारी । २०८१ मा स्पट फिक्सिङको आरोपबाट पूर्ण रूपमा सफाइ पाएपछि आदिलले लामो अन्तरालपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरे ।

र, उनले यो अवसरलाई दह्रोसँग अँगाले । गुवाहाटी सिरिजमा उनले खासगरी ब्याटिङमा यस्तो प्रदर्शन गरे, जसले राष्ट्रिय टिमका लागि उनको महत्व पुनः स्थापित गराएको छ । टी–२० को सन्दर्भमा रन मात्र होइन, स्ट्राइक रेट बढी महत्वपूर्ण मानिन्छ ।

आदिलले यही पक्षमा सबैको ध्यान खिचे । उनले चार खेलमा जम्मा ८५ रन बनाए तापनि २०० भन्दा माथिको स्ट्राइक रेटमा खेल्दै १० वटा छक्का प्रहार गरे । दोस्रो खेलमा उनले ८ बलमा १४ रन बनाएर २ छक्का प्रहार गरे । तेस्रो खेलमा छैटौं नम्बरमा आएर १६ बलमा ३५ रन ठोके ।

उनले २ सय १८ को स्ट्राइक रेटमा १ चौका र ४ छक्का हाने । चौथो खेलमा ७ बलमा ११ रन बनाएका आदिलले पाँचौं तथा अन्तिम खेलमा ११ बलमा २५ रन बनाएर अविजित रहँदै ३ छक्का प्रहार गरे ।

यी इनिङहरुले देखाउँछ कि आदिलले क्रिजमा आउनासाथ आक्रमण गर्न सक्ने आत्मविश्वास र कौशल प्रदर्शन गरेका छन्, जुन कुनै पनि टी–२० खेलाडीको लागि विशेष गुण हो । उनले यस सिरिजमा केही ’हेलिकोप्टर सट’ समेत प्रहार गरे, जसले समर्थकहरूलाई २०७८ को डेब्यु खेलको सम्झना दिलायो । टीयू मैदानमा पीएनजीविरुद्धको त्यो डेब्यु म्याचमा पनि उनले ११ बलमा ३१ रन बनाउँदै तीन छक्का र एक चौका हानेका थिए ।

त्यही म्याचमा हानेको हेलिकोप्टर सट अहिलेसम्म उनको सिग्नेचर सटको रूपमा चिनिन्छ । यद्यपि बलिङमा आदिलको प्रदर्शन उल्लेखनीय रहेन, तर उनले अघिल्लो प्रदर्शनहरूमार्फत आफूलाई एक सक्षम मध्यम गतिका अलराउन्डरको रूपमा पहिल्यै प्रमाणित गरिसकेका छन् ।

यदि उनले बलिङमा निरन्तरता दिन सके भने, उनी नेपाल टिमको ‘फिनिसर’ र ‘छैठौं बलर’ दुवै भूमिकामा फिट हुन सक्छन् । आदिल अन्सारीको गुवाहाटी सिरिजमा देखिएको प्रदर्शनले केवल उनको पुनरागमन मात्र नभई राष्ट्रिय टिमको लागि एक आशालाग्दो विकल्पको रुपमा स्थापित गरेको छ ।

विश्वकप छनोटका लागि तयार पारिएको प्रारम्भिक ३२ सदस्यीय टोलीमा नाम समावेश गराइसकेका आदिल अब अन्तिम टोलीमा स्थान बनाउन नजिक छन् । यदि उनले यो फर्म निरन्तर राखे, निकट भविष्यमा उनी फेरि नेपालको जर्सीमा देखिने सम्भावना अत्यन्त बलियो देखिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =