अन्तिम सुनुवाइ आजदेखि, रायमाझी र खाँणसहित ३१ जनाको भविष्य अदालती कठघरामा

काठमाडौँ । लामो समयदेखि मुलुकको राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ आजदेखि जिल्ला अदालत काठमाडौँमा सुरु हुँदैछ । पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणसहित ३१ जना आरोपितहरू जोडिएको यो बहुचर्चित मुद्दा अब टुङ्गो लाग्ने चरणमा प्रवेश गरेको हो ।
पछिल्लो समय साक्षी बयान र बकपत्रसम्बन्धी सम्पूर्ण प्रक्रिया सकिएपछि अदालतले यस मुद्दालाई साप्ताहिक पेसी सूचीमा राखेर अन्तिम बहसका लागि मार्गप्रशस्त गरेको हो । रायमाझीका कानुन व्यवसायीले ‘आजदेखि सुनुवाइ गर्ने भनिएको छ, कुनै कारण नआएमा पक्कै निरन्तरता पाउने र टुंगो लाग्ने अपेक्षा छ’ भनेका छन् ।
यसअघि तत्कालीन जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकाहरूलाई तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार ठहर्याउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । उक्त आदेशपछि केही अभियुक्त उच्च अदालतबाट धरौटीमा रिहा भए पनि केही अझै थुनामै रहेका छन् ।
यद्यपि, अघिल्ला दुई वर्ष खासै प्राथमिकता नपाएको यो मुद्दाले २०८२ सालको वैशाखयता मात्रै १० पटक साप्ताहिक र १६ पटक पूरक पेसी चढेर गति लिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले १० जेठ २०८० मा ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको अभियोगसहित ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसयता पूरक मुद्दासहित कुल ३१ जना प्रतिवादी बनेका छन्।
उच्चस्तरीय संलग्नता र आरोपितहरू:
नक्कली शरणार्थी सूची बनाएर नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा अमेरिका पठाउने जघन्य योजनामा गृहमन्त्री र गृहसचिवस्तरकै बिचौलियाहरूसँगको मिलेमतोको आरोप लागेको छ । यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहितका उच्चस्तरीय व्यक्तिहरू प्रतिवादी बनेका छन् । उनीहरूमाथि ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधजस्ता गम्भीर अभियोगहरू लागेका छन् ।
सुरुमा गजेन्द्र बुढाथोकीसहितको जाहेरीका आधारमा यो मुद्दा दायर गरिएको थियो । त्यसपछि ९ वैशाख २०८१ मा दाफुरी शेर्पासहितको जाहेरीका आधारमा सुरु मुद्दाकै प्रतिवादी केशव दुलालसहित पाँच जनामाथि पूरक मुद्दा दायर भयो । यस्तै, २९ साउन २०८१ मा बेचन झाविरुद्ध पनि अर्को पूरक मुद्दा दायर गरिएको थियो । यी सबै मुद्दालाई एउटै फाइलमा समेटेर सुनुवाइ अघि बढाइएको हो ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा प्रतिवादी बनाइएका प्रमुख नामहरूमा पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोरा सन्दीप रायमाझी, पूर्व गृहमन्त्री खाँण, तत्कालीन गृहसचिव पाण्डे, तत्कालीन सांसद शेर्पा, गृहमन्त्री थापाका छोरा प्रतीक थापा र सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत छन् ।
त्यस्तै, शरणार्थी प्रकरणका बिचौलियाका रूपमा केशव दुलाल, दुलालकी पत्नी दीपा हुमागाईं, सानु भण्डारी, टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, हरिभक्त महर्जन र उनकी पत्नी लक्ष्मी महर्जन, राजेश अर्याल, विनीता सावदेन लिम्बु, सागर राई, आशिष र सुनिल बुढाथोकी, रामशरण केसी, सन्देश शर्मा, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजालसमेत यस प्रकरणमा मुछिएका छन् ।








