प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
मंगलबार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भएको भेटवार्तामा बाम एकता र समाजवादी मोर्चालाई थप सक्रिय बनाउने विषयमा प्रमुख रूपमा छलफल भएको नेकपा एसका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
‘समाजवादी मोर्चालाई गति दिनु पर्ने, बाम गठबन्धनलाई सशक्त बनाउने विषयमा दुबै नेताबीच गम्भीर छलफल भयो,’ उपमहासचिव भट्टराईले भने, ‘पार्टीभित्रका केही असमझदारीहरूलाई समेत छलफलमार्फत निराकरण गर्ने सहमति भएको छ ।’
भेटवार्तामा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे पनि सहभागी थिए ।
नेताहरूबीच पछिल्लो राजनीतिक अवस्था, गठबन्धनको भविष्य र भावी रणनीतिका विषयमा समेत विमर्श भएको स्रोतले जनाएको छ ।
यसरी प्रचण्ड र नेपालबीचको भेटले आगामी दिनमा वाम गठबन्धनका गतिविधि थप चपल हुने संकेत देखिएको छ ।








