सरकारले अख्तियारसम्बन्धि विधेयक अघि बढाउन चाहेन : कांग्रेस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक लामो समयदेखि रोकिएको भन्दै सत्तारूढ दलकै सांसदहरूले सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापा र सांसद दिलेन्द्रप्रसाद बडू लगायतका सांसदहरूले विधेयक अघि नबढाउने सरकारी व्यवहारप्रति गम्भीर आपत्ति जनाएका हुन् ।

महामन्त्री थापाले अख्तियार सम्बन्धी विधेयकलाई उपसमितिबाट प्रतिवेदन तयार पारेर समिति हुँदै संसदमा लैजानुपर्ने स्पष्ट धारणा राखे। उनले भने, ‘यो विधेयक यत्तिकै रोकिनु हुँदैन । समितिको जिम्मेवारी हो, प्रतिवेदन ल्याउने, छलफल गर्ने र संसदमा पठाउने । सरकारले मन नपर्‍यो भने फिर्ता लैजान सक्छ तर समितिमा रोकिराख्ने कुरा होइन ।’

उनले समितिकी सभापति ईश्वरीदेवी न्यौपानेलाई प्रधानमन्त्री र सम्बन्धित मन्त्रीलाई तत्काल स्पष्ट धारणा दिन दबाब दिनुपर्ने सुझाव पनि दिए ।

त्यस्तै, सांसद बडूले पनि विधेयकलाई अवरोध गर्ने सरकारको नियतमै प्रश्न उठाएका थिए । उनले भने, ‘सरकारले नै चाहेको छैन भन्ने देखिन्छ । समितिमा सर्वसम्मत रूपमा पारित भइसकेको विधेयक अब पनि रोकिराख्नु न्यायोचित हुँदैन ।’

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विधेयक अघि नबढाएकोमा पूर्व सभापति रामहरि खतिवडाको भूमिकामाथि समेत आलोचना गरे । उनले भने, ‘२०७६ सालमा संसदमा दर्ता भएको विधेयक अहिलेसम्म छलफलमा समेत नआउनु लाजमर्दो हो । सरकारले ढिला गरे पनि समितिले आफ्नो अधिकार प्रयोग गरेर विधेयक अघि बढाउनुपर्छ ।’

जनता समाजवादी पार्टीका सांसद अशोककुमार राईले भने संघीयता कार्यान्वयनसँग सम्बन्धित नेपाल प्रहरी ऐनजस्ता महत्वपूर्ण विधेयकहरूमा ढिलाइ भएकोमा गम्भीर चिन्ता व्यक्त गरे । उनले समितिलाई संविधान कार्यान्वयनमा सक्रिय भएर लाग्न आग्रह गरे ।

बैठकमा सहभागी अन्य सांसदहरूले पनि संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा ढिलाइ भइरहेको भन्दै त्यसलाई तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =