स्थानीय तहका महिला जनप्रतिनिधिहरू सक्षम छन् : अष्टलक्ष्मी शाक्य

काठमाडौँ । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्थानीय तहका महिला जनप्रतिनिधिहरू सक्षम रहेको बताएकी छन् ।

मंगलवार काठमाडौँमा आयोजित प्रेरणादायी महिला जनप्रतिनिधिबारे आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेकी हुन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूको मूल्याङ्कन गर्ने परिपाटी अझै बन्न नसके पनि त्यस क्षेत्रको विकासमा महिला जनप्रतिनिधिहरूले देखाएको आँट, हिम्मत र सोच प्रशंसायोग्य रहेको उपाध्यक्ष शाक्यको निष्कर्ष थियो । उनले मुलुकलाई समृद्ध बनाउनका लागि महिलाहरूको नेतृत्व स्थापित गराउनु जरुरी रहेको पनि बताइन् ।

सञ्चार माध्यमहरूले पनि महिलाहरूलाई अघि बढाउने काममा सहयोग गर्न पनि उपाध्यक्ष शाक्यले आग्रह गरिन् । उनले आफू बिस्तारै राजनीतिबाट रिटायर हुने अवस्थामा पुगे पनि महिलाहरू त्यस क्षेत्रमा अघि बढ्न सक्षम भएको आफूले पाएको पनि बताइन् ।

उपाध्यक्ष शाक्यले भनिन् ‘अहिलेसम्म नेपालमा जनप्रतिनिधिहरू अझै स्थानीय तहको जनप्रतिनिधिहरू पुरुष, महिला उहाँहरूको कामको, सुकर्मको मूल्याङ्कन गर्ने परिपाटी नै छैन । स्थानीय तहका जनप्रतिनिधिहरूले तल बसेर जनताका लागि सेवा गरिरहेको, परिवर्तनका लागि काम गरिराखेको कामको मूल्याङ्कन त हुनुपर्ने । तर हुन सकेको छैन । तर जे होस कल्प आँट, हिम्मत गरेर एउटा सपना बोकेर, हामी सक्छौ भनेर यो आँट गरेर आउनु भयो । एउटा मूल्याङ्कन गर्ने परिपाटी ल्याउनु भयो । यो चानचुने कुरा होइन । महिला जनप्रतिनिधिहरूमा पनि आँट र हिम्मत बढेको मैले महसुस गरेको छु । किनभने स्पष्ट सोच, आँट र हिम्मत भएन भने परिवर्तन बाहक नेतृत्व बन्न सक्दैन भन्ने मलाई लाग्छ । त्यो महिला जनप्रतिनिधिहरूमा मैले देखेको छु । त्यसो भएको हुनाले उहाँहरूलाई स्थापित गर्ने, अगाडि बढाउने, हौसला दिने काम अव सञ्चार जगतको पनि हो । विभेद हुनुहुँदैन भने पनि त्यो महिलामाथि कायमै छ । त्यसो भएको हुनाले त्यो परिवर्तनका लागि महिलाहरूलाई सञ्चारको माध्यमबाट पनि सहयोग गरिदिने र उहाँहरू आफैलाई पनि प्रेरणा दिने खालको काम गर्नु पर्छ । हाम्रो नेपाललाई नयाँ नेपाल, सुन्दर नेपाल, समृद्ध नेपाल र सुसंस्कृत नेपाल बनाउने हो भने, भेदभाव रहित नेपाल बनाउने हो भने हामीले सबै क्षेत्रबाट महिलाहरूलाई सकारात्मक सहयोग गर्न जरुरी छ । महिलाको नेतृत्व अबको युगमा स्थापित गरेर अगाडि बढ्नुपर्छ । अब म त ७२ वर्ष पुगे । अव बिस्तारै आफू त रिटायर हुने हो । मलाई लाग्छ–कम्तीमा अब यो फिल्ड पनि खाली भएन ।’

उपाध्यक्ष शाक्यले समाजलाई विभेदमुक्त बनाउन पनि महिलाहरूको नेतृत्व आवश्यक रहेको जिकिर समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =