बन्दीपुरलाई आकर्षक गन्तव्य बनाऔँ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बन्दीपुरलाई आकर्षक गन्तव्य बनाउने काम बन्दीपुरवासीको भएको बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले बन्दीपुरलाई अरू कसैले नबनाइदिने बताएका हुन् ।
राज्य र अन्य विकासप्रेमीको साथ लिएर बन्दीपुरको भविष्यलाई उज्याले बनाउन उनले बन्दीपुरवासीलाई आग्रह गरे । बन्दीपुरको यात्रा आरोह अवरोहपूर्ण रहेको उल्लेख गर्दै उनले हाल बन्दीपुर पुनः जीवित भएको बताए । फुलेफक्रेको बन्दीपुर एक समयमा ओइलाएको उनको भनाई थियो । बन्दीपुरले पर्यटन र संस्कृतिको क्षेत्रबाट पर्वतीय पर्यटनमा ठुलो योगदान दिएको उनले बताए ।
उनले बन्दीपुरसँग भएको क्षमता, सम्भावनाको भने भरपुर उपयोग हुन नसकेको उल्लेख गरे ।
उनले भने ‘बन्दीपुरको यात्रा आरोह अवरोहपूर्ण छ । एक समयमा बन्दीपुर फुलेफक्रेको थियो । अर्को समयमा बन्दीपुर ओइलायो । र फेरि अहिले बन्दीपुर रिभाईभ भइरहेको छ नयाँ ढंगले फुल्ने, फक्रिने कोसिस गर्दैछ । साँच्चै बन्दीपुर हरेक हिसाबले, प्राकृतिक हिसाबले, सांस्कृतिक हिसाबले, पर्यटकीय हिसाबले अरू वातावरणीय दृष्टिकोणले, एउटा सामाजिक मनोविज्ञानको दृष्टिकोणले हरेक हिसाबले एउटा आकर्षक गन्तव्य हो । म यहाँहरूसँग अनुरोध गर्न चाहन्छु, बन्दीपुरलाई अरू कसैले बनाइदिँदैन । राज्यको साथ लिन सकिन्छ, लिनु पनि पर्दछ । अरू विकासप्रेमीहरुको साथ लिन सकिन्छ, लिनु पनि पर्छ । तर बन्दीपुर बन्छ कि बन्दैन भन्ने कुराको अन्तिम निर्णयकर्ता बन्दीपुरबासीहरु नै हुनुहुन्छ । त्यसकारणले बन्दीपुरका सबै दिदीबहिनी दाजुभाइहरूले बन्दीपुरको उज्यालो भविष्यलाई सार्थक तुल्याउन आ–आफ्नो ठाउँबाट कोसिस गर्नुहोस् भनेर म अनुरोध गर्न चाहन्छु । बन्दीपुरको माध्यमबाट यहाँहरूले जुन पर्यटनको क्षेत्रमा, कला संस्कृतिको क्षेत्रमा, समग्रतामा हाम्रो पर्वतीय पर्यटनमा बन्दीपुरले जुन योगदान दिन खोज्दै छ । त्यस क्षेत्रमा यहाँहरूले जुन योगदान गर्न खोज्दै हुनुहुन्छ, सरकार त्यसको साथमा छ । बन्दीपुरसँग जुन क्षमता छ, जुन सम्भावना छ, त्यो सम्भावना र क्षमताको सानो हिस्सा मात्रै, आजको मितिसम्म सानो हिस्सा मात्रै सदुपयोग गर्न सकेको छ, जस्तो मलाई लाग्छ । बन्दीपुरसँग अहिले जति क्षमता प्रकट भएको छ । जति सामर्थ्य बन्दीपुरले प्रदर्शित गरेको छ । त्यो भन्दा अझ धेरै फराकिलो समाथ्र्य बन्दीपुरसँग छ ।’
उनले बन्दीपुरले मानिसलाई तानेर, बाँधेर राख्ने क्षमता राख्ने बताए । बन्दीपुरको सामर्थ्यलाई अत्यधिक रूपमा उद्घाटित गर्न उनले आग्रह गरे ।








