सरकार सत्ताकब्जा गर्नेतिर लाग्यो, हामी आन्दोलनमा जान्छौं : अग्नि सापकोटा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार निरंकुशतातर्फ गएकाले आफ्नो पार्टीले आन्दोलनमा जाने तयारी रहेको बताएका हुन् ।
उपाध्यक्ष सापकोटाले संसदमा पार्टीको संख्या पनि कम भएकाले सरकारलाई दबाब दिन जनतालाई जागृत गर्न पनि सडक आन्दोलनमा जानुको विकल्प नरहेको तर्क गरे । सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने अवस्था आएको त्यसको तयारी रहन पनि उनले पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।
सरकार अधिनायकवाद, तानासाही र निरंकुशतातिर गइरहेकाले आफूहरूले जनतालाई सचेत गराउन आन्दोलनमा जाने बाटो तय गरेको उपाध्यक्ष सापकोटाको भनाई थियो ।
उनले भने ‘अब बिस्तारै आन्दोलनको तयारी गर्नु पर्छ । जनतालाई नै जागृत गरेर जनताको दबाब सृष्टि नगरी अहिले हुनेवाला छैन । किनभने संसदमा हाम्रो संख्या पनि कम छ भनेर हामीले अव आन्दोलनको तयारी गर्नुपर्छ भन्ने समझदारी बनाएका छौ । र, म अहिले तपाईँहरूलाई आन्दोलनको तयारीतिर त्यसको मानसिकता बनाउनका लागि म आग्रह गर्न चाहन्छु । अहिलेको दुई दलीय सरकार राज्य सत्ता कब्जा गर्नेतिर अगाडि बढेको छ । त्यसमा पनि कसले बाजी मार्छ । त्यसमा पनि उनीहरूको बीचमा भयानक ठुलो अन्तर्विरोध छ काँग्रेस–एमालेको बीचमा पनि । तर फेरी पनि कुरा के हो भने राज्य अधिनायकवादतिर, तानाशाहीकरणतिर, निरंकुशतातिर गइरहेको छ । अझ म त के भन्छु भने अहिले सरकार त भनिएको छ । तर शक्ति राष्ट्र भनिएकाहरूमा चाहिँ सरकार छैन त्यहाँ एउटा गुन्डा दल छ । गुन्डा दलले त्यहाँ मनलाग्दी गरिरहेको छ ।’
उपाध्यक्ष सापकोटाले सत्तारुढ काँग्रेस–एमालेबीच पनि भयानक ठुलो अन्तर्विरोध रहेको जिकिर गरे ।








