लिम्पियाधुरामा व्यापारिक मार्ग खोल्ने सम्झौताको कूटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँ : प्रवक्ता गुरुङ

काठमाडौँ । नेपाली भूभाग लिम्पियाधुराबाट चीन—भारतले व्यापारिक मार्ग खोल्ने सम्झौताको नेपालले कूटनीतिक नोटमार्फत विरोध जनाएको छ ।
सोमवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूले गरेका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो बताएका हुन् ।
उनले सरकारले नेपालको भूमि मिच्न पाइँदैन भनेर परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट जारी गरेर त्यसको विरोध गरेको बताए । उनले कूटनीतिक संवादका माध्यमबाट समस्याको समाधान गर्ने नीति नेपालको रहेको पनि स्पष्ट पारे । महाकाली पूर्वका भूभागहरू लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र, ऐतिहासिक रूपले सबै हिसाबले नेपालको रहेको बताए ।
उनले भने ‘नेपाल र भारतबीचको सीमा विवादको कुरा विवादमै छ अहिले पनि । कूटनीतिक संवादका माध्यमबाट समस्याको समाधान गर्ने नीति नेपालको छ । महाकाली पूर्वका भूभागहरू लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र, ऐतिहासिक रूपले सबै हिसाबले हाम्रो रहेको छ । समयक्रमले भारतको अतिक्रमणमा रहेको । हामीले दाबी गर्न नसकेको र समस्या उत्पन्न भएको कुरा हो । नेपालको दाबी रहेको भूभागमा चीन र भारतको व्यापारिक नाका खोल्ने सहमति भएकाले त्यहाँ हामीले हाम्रो सीमानामा हाम्रो भूमि मिच्न पाइँदैन भनेको हो । नेपालको परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट जारी गरेर त्यसको विरोध जनाइसकेकै छौँ ।’
मन्त्री गुरुङले भारत भ्रमणका क्रममा भारतसँग पनि यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आवाज उठाउने स्पष्ट पारे ।








