माओवादी सांसदको आरोप- सरकारलाई कर्मचारीका नेताले दबाब दिए

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले पदावधि लम्ब्याउनको लागि केही कर्मचारीका नेताहरूले सरकारलाई दबाबमा पारेको आरोप लगाएका छन् ।

सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको संघिय निजामती सेवा विधेयक सम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले सत्तारुढ दलका सांसदहरूलाई पनि कर्मचारीहरूले दबाबमा पारेको अनुभूति आफूहरूले गरेको बताए । संघिय निजामती सेवा ऐन जारी भएको पहिलो वर्ष अवकाशको उमेर ५८ वर्ष कायम गर्ने, दोस्रो वर्ष ५९ वर्ष कायम गर्ने र तेस्रो वर्ष ६० वर्ष कायम गर्ने निर्णय भइसकेको उनको दाबी छ ।

यो निर्णयबाट पछि हट्न नहुनेमा उनले जोड दिए । उनले आफूहरू मत विभाजनको पक्षमा पनि नरहेको बताए । सर्वसहमतिले भएको निर्णयलाई पालना गरेर जानुपर्ने उनको भनाई छ ।

उनले भने ‘पदावधि लम्ब्याउनको लागी केही कर्मचारीका नेताहरूले एकदम दबाबमा पारेका छन् । मूलभूत रूपमा सत्तारुढ दलका माननीय सदस्यहरू उनीहरूले एकदम दबाबमा पारेको हामीले अनुभूति गरिरहेका छौँ । अब यसमा संघिय निजामती सेवा ऐन जारी भएको पहिलो वर्ष अवकाशको उमेर ५८ वर्ष कायम गर्ने, दोस्रो वर्ष ५९ वर्ष कायम गर्ने र तेस्रो वर्ष ६० वर्ष कायम गर्ने भन्ने हाम्रो जो निर्णय छ । यो निर्णय सही छ, यो निर्णयबाट हामी यता उता नलागौँ । यहाँ बहुमत, अल्पमतको कुरा पनि होइन । सर्वसहमतीले भएका निर्णय हुन् । हामी बहुमत, अल्पमत गर्ने पक्षमा छदैछैनौँ । हामी प्रतिपक्ष भएको हुनाले हामीले बहुमत, अल्पमतको कुरा गर्दैनौँ । त्यसकारणले गर्दा अस्ति जुन निर्णय भयो । त्यो निर्णय लागू गरेर जाऊँ ।’

उनले संसदबाट निर्णय भइसकेको कुरालाई सच्याउनको लागि सरकारले निर्देशन दिन खोजेको पनि आरोप लगाए । यो गम्भीर विषय भएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =