डोल्पा बाहेकका सबै जिल्लामा पशु चिकित्सकहरूको राम्रो उपलब्धता छ : उपाध्यक्ष शाही

काठमाडौँ । नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीले डोल्पा बाहेक सबै जिल्लामा पशु चिकित्सकहरूको राम्रो उपलब्धता रहेको बताएका छन् ।
सोमवारको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सोमवार समितिको बैठकमा नेपाल पशु चिकित्सा परिषद् ९पहिलो संशोधन० विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालाहरूसँग विधेयकका सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल भएको हो ।
छलफलका क्रममा उहाँले पशु चिकित्सक र पशु चिकित्सा व्यवसायको परिभाषा विधेयकमा गरेर जानुपर्ने बताए । उनले विधेयकमा किसानलाई क्षतिपूर्ति दिनेकुरा पनि उल्लेख गरिएको भन्दै यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
उनले भने ‘डोल्पा बाहेक अहिले हाम्रो हरेक जिल्लामा भेटेरिनरी डाक्टरको उपस्थिति देखिन्छ । उपलब्धता राम्रो रहेको छ । पशु चिकित्सक र पशु चिकित्सा व्यवसायको परिभाषा छ । पशु चिकित्सा व्यवसायी भनेर लेखिदिऔँ तर त्यसको परिभाषा ऐनमा गर्न बिर्सिएछौँ । किसानलाई क्षतिपूर्ति दिनेकुरा पनि हामीले यहाँ राखेका छौँ । पशु बोल्दैन भनेर हो की के हो जसले पनि घोचिदिने भइरहेको छ । जसले पनि अपरेसन गरेको छ । शैक्षिक योग्यताअनुसारका कुराहरू गरेका छौँ ।’
उपाध्यक्ष शाहीले पशु बोल्दैन भनेर जसले पायो त्यसले उपचार गर्न खोज्ने कुरा गलत भएकाले शैक्षिक योग्यताअनुसारको उपचार गर्नुपर्ने कुरा विधेयकमा लेख्न जरुरी रहेको बताए ।








