एमालेमा वडामा चुनाव जिताउन नसक्नेहरू पनि नेता भए : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारीहरूले वडा तहमा समेत चुनाव जिताउने हैसियत नराख्ने बताएका छन् ।

सोमवार काठमाडौँमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिस्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उनले पार्टीका केही पदाधिकारीहरूले कुरा ठूलाठूला गर्ने गरेको भए पनि वडा तहको समेत चुनाव जिताउन हैसियत राख्न नसक्ने अवस्था रहेको टिप्पणी गरेका हुन् ।

उपमहासचिव ज्ञवालीले पार्टीका धेरै नेता, कार्यकर्ता धागो नभएको चङ्गा जस्तो माथि मात्रै रहने गरेको तर जनाधार नभएको पनि औँल्याए । पार्टीका कतिपय पदाधिकारी, केन्द्रीय सदस्यहरूले कुरा ठुला गरेपनि जनाधार नहुँदा चुनाव जिताउने हैसियत गुमाएको उनको निष्कर्ष थियो । उपमहासचिव ज्ञवालीले पञ्चायत कालमा समेत जनमत बुझ्न राजा महेन्द्रले गाउँ फर्क अभियान चलाएको उल्लेख गर्दै पार्टीका नेता, कार्यकर्ताहरूले पनि जनाधार निर्माणमा विशेष ख्याल राख्नुपर्ने बताए ।

उनले भने ‘आज हाम्रो समस्या के हो भने–हामी हाम्रा धेरै कमरेडहरू, कार्यकर्ताहरू अलिकति धागो चुँडिएको चङ्गा जस्तो माथिमाथि मात्रै, तल जनाधार छैन । गएको २०७९ सालको निर्वाचनमा हामीले एउटा नारा दिएको थियौँ–म नै जिताउँछु मेरो वडा । देशमा ६ हजार ७४३ वडा छन् । हाम्रो कम्तीमा पनि ८० प्रतिशत भन्दा बढी वडामा बलियो जनाधार छ । हाम्रो सङ्गठन छ । वडा कमिटीहरू छन् । प्रत्येक नेताले आफ्नो वडा जिताई दिएको भए त दीग्विजयनै हासिल गथ्र्यौं त हामीले । तर हामी कतिपय केन्द्रीय सदस्य हुँला, कतिपय पदाधिकारी हुँला, कति जिल्लाका नेताहरू हुँला–जसले आफ्नो वडा समेत जिताउन सक्दैनन् । कुरा चाहिँ ठूल्ठूला गर्दछन् । त्यसले गर्दा जनतासँग जोडिने कुरा ज्यादै महत्त्वपूर्ण कुरा रहेछ ।’

उपमहासचिव ज्ञवालीले नीति, विधि र व्यवहार सबै हिसाबले जनतासँग एकाकार भएर मात्रै पार्टीलाई अघि बढाउन सकिने भएकाले सिंगो पार्टी पङ्क्ति सोहीअनुसार परिचालन हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 18 =