माघभित्र काठमाडौं र पोखरामा फाइभजी परीक्षण सुरु हुने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताएका छन् । उनले उक्त नीति चाँडै मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा जाने जानकारी दिएका हुन् ।
चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले पर्यटन, शिक्षा, सुशासन, विपद् व्यवस्थापनलगायत आठ क्षेत्रलाई लक्षित गर्दै प्रविधिको प्रयोग विस्तार गर्ने सरकारको तयारी रहेको बताए ।
उनका अनुसार, वर्तमान डिजिटल परिवर्तनको प्रमुख आधार कृत्रिम बुद्धिमत्ता (एआई) भएकाले यसको प्रभावकारी प्रयोगका लागि फाइभजी नेटवर्क अनिवार्यजस्तै भएको उल्लेख गरे । ‘यो वर्षको माघ महिनाभित्र काठमाडौं र पोखरा उपत्यकाबाट फाइभजी परीक्षण सुरु गर्नेछौं,’ उनले भने, ‘यसले इन्टरनेटको गुणस्तर सुधार गर्नुका साथै एआई प्रविधिको उपयोगमा सहयोग पुग्नेछ ।’
मन्त्री गुरुङले आगामी वर्षभित्रै देशभर फाइभजी विस्तार सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए । साथै, सातै प्रदेशमा आईटी डाटा सेन्टर र एआई केन्द्र स्थापना गर्ने योजना सरकारले अघि सारेको उनको भनाइ थियो ।
त्यसैगरी, बैंकिङ ठगीसम्बन्धी मुद्दा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै, उनले यस्ता अपराध नियन्त्रणका लागि आवश्यक कानून निर्माण प्रक्रिया पनि अगाडि बढिरहेको जानकारी दिए ।
उनले भने, ‘अब हामी डिजिटल नेपालको यथार्थ कार्यान्वयनको चरणमा छौं। सरकार गम्भीरताका साथ यो परिवर्तनलाई गति दिँदैछ ।’








