समृद्धिको आधार जलविद्युत आयोजना मात्रै होइन : सांसद तामाङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद मिना तामाङले मुलुक समृद्धिको आधार जलविद्युत आयोजना मात्रै नभएको बताएकी छन् ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आईतवार बसेको बैठकमा भएको हाईड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका समस्या सम्बन्धी छलफलमा उनले यस्तो बताएकी हुन् ।
हाल मानिसको दिमागमा समृद्धिको आधार भन्ने वित्तिकै जलविद्युत र ढुङ्गा खानी आउने गरेको उनको भनाई छ । उनले समृद्धिको आधार भनेको उद्योग, कलकारखानाहरुको स्थापना र सञ्चालन पनि रहेको बताइन् ।
जुट मिल, जनकपुर कारखानालगायत बन्द रहेका थुप्रै कारखानाहरुलाई संचालनमा ल्याउन कुरामा कसैको ध्यान नगएको उनको भनाई छ ।
उनले जलविद्युत आयोजना, हावा, पानी, वन, जंगल, जडिबुटी भनेको राष्ट्रको धन भएकोले यसलाई कसरी संचालन गर्ने भन्ने जिम्मा राज्यले लिनुपर्ने बताइन् । यस्ता चिजहरुमा निजी कम्पनीहरुको सहभागिता कतिसम्म गराउने हो भन्नेमा ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।
उनले हाल निकुञ्ज तथा संरक्षण क्षेत्रमा जलविद्युत निर्माणमा वन मन्त्रालयले अवरोध सिर्जना गरेको नभई कानुनले गरेको बताइन् । यसको निकासको लागी कानुन संशोधन गर्न राष्ट्रियस्तरमा नै छलफल गर्नुपर्नेमा उनले जोड दिइन् ।








