पुस्तकालयलाई अनुसन्धान, नवप्रवर्द्धन र सीप विकासको केन्द्र बनाइने : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पुस्तकालयलाई अनुसन्धान, नवप्रवद्र्धन र सीप विकासको प्रमुख केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

१८ औँ पुस्तकालय दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पुस्तकालय केवल अध्ययनका स्थल मात्र नभई नागरिक चेतना जगाउने केन्द्र, सामाजिक संवादका चौतारी र परिवर्तनको प्रेरणाश्रोतसमेत भएको बताए ।

उनले ग्रामिण क्षेत्रका पुस्तकालयहरूमा कम्प्युटर, इन्टरनेट, डिजिटल प्रणाली र मोबाइल पुस्तकालय जस्ता प्रविधिहरूले सूचना पहुँचको खाडल घटाइरहेको उल्लेख गरे । मन्त्री गुरुङका अनुसार अहिलेका पुस्तकालयहरू युवाहरूका लागि अनुसन्धान, नवप्रवद्र्धन र सीप विकासको केन्द्र बन्दै गएका छन् ।

‘पुस्तकालय महिला, बालबालिका, किसान, श्रमिक, विद्यार्थी लगायत समाजका सबै तहका मानिसका लागि सूचना, सीप र आत्मबल प्रदान गर्ने थलो बनेका छन्,’ मन्त्री गुरुङले भने, ‘तर कानूनी संरचना, पर्याप्त लगानी र प्रविधिको अभावका कारण पुस्तकालयहरू अझै पूर्ण क्षमतामा पुग्न सकेका छैनन् ।’

उनले पुस्तकालयलाई सुदृढ बनाउन सरकार, स्थानीय तह र समुदायको संयुक्त प्रयास आवश्यक रहेको बताए । ‘अब पुस्तकालयहरूलाई बलियो कानूनी आधार, पर्याप्त बजेट र प्रविधिसहित सक्षम बनाउनु अति आवश्यक छ,’ मन्त्री गुरुङको भनाइ थियो ।

मन्त्री गुरुङले पुस्तकालयहरूको सुधार गर्दै पठन संस्कृतिको विकासका लागि सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 3 =