रविलाई भेट्न नख्खु कारागारमा रास्वपाका आकांक्षीहरू, दिउँसो उम्मेदवार घोषणा

काठमाडौं । रुपन्देही-३ को आसन्न उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको सरगर्मी उत्कर्षमा पुगेको छ । पार्टीले आधिकारिक उम्मेदवार घोषणा गर्नुअघि नै उम्मेदवारका आकांक्षीहरू पार्टी सभापति रवि लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगेका छन् । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई हालै मात्र भैरहवा कारागारबाट नख्खु सारिएको थियो ।

आजै सचिवालय बैठक बसेर उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्ने तयारीमा रहेको रास्वपाले जनाएको छ । उम्मेदवार घोषणा हुनुअघि आकांक्षीहरूले सभापति लामिछानेसँग भेट गरी आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरेका हुन् । 

रुपन्देही-३ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न ९ जना आकांक्षीले रास्वपाबाट आवेदन दिएका थिए । साउन ७ देखि २१ गतेसम्म पार्टीले उम्मेदवार बन्नका लागि आह्वान गरेकोमा ती ९ जना छनोट भएका थिए । आकांक्षीहरूमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही-३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल रहेका छन् । यीमध्ये कुसुम, मधु, सुलभ र जीतबहादुरबाहेक ५ जना भैरहवा क्षेत्रका हुन् ।

राप्रपाका तर्फबाट रुपन्देही-३ बाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि रिक्त रहेको यस क्षेत्रमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगै विभिन्न राजनीतिक दलहरू उम्मेदवार छनोट प्रक्रियामा जुटेका छन् । रास्वपाको यस कदमले रुपन्देही-३ को चुनावी माहोल थप तातेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =