कारागार भेटपछि रास्वपाको घोषणा : रुपन्देही-३ मा कसले पाउला टिकट ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको टुङ्गो लगाउने भएको छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेटेर आकांक्षीहरूले अन्तिम राय लिने कार्यक्रम तय भएको छ । बिहान ११ बजे ९ जना आकांक्षीहरूले लामिछानेलाई भेट्न नख्खु कारागार जानेछन् ।

भैरहवा कारागारबाट केही समयअघि मात्र नख्खु सारिएका लामिछानेलाई भेटेलगत्तै दिउँसो १:३० बजे पार्टी कार्यालयमा सचिवालय बैठक बस्नेछ । यस बैठकले ९ जना आकांक्षीमध्येबाट एक जनालाई रुपन्देही-३ को उम्मेदवारका रूपमा अघि सार्नेछ । पार्टी स्रोतका अनुसार, बैठकलगत्तै अपरान्ह ४:३० बजे उम्मेदवारको औपचारिक घोषणा गर्ने तयारी छ । यसअघि दिउँसो ३:३० बजे केही विशेष पार्टी प्रवेश कार्यक्रम समेत राखिएको छ ।

रास्वपाले साउन ७ देखि २१ गतेसम्म उम्मेदवार बन्नका लागि आवेदन आह्वान गरेकोमा ९ जनाको नाम छनोट सूचीमा परेको थियो । यसमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही-३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल सामेल छन् । यीमध्ये कुसुम, मधु, सुलभ र जीतबहादुरबाहेक ५ जना भैरहवा क्षेत्रका हुन् ।

राप्रपाबाट निर्वाचित दीपक बोहराको निधन भएपछि रिक्त भएको रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । रास्वपाले यस उपनिर्वाचनलाई विशेष महत्त्वका साथ हेरेको छ र बलियो उम्मेदवार खडा गर्ने रणनीतिमा जुटेको छ । आजको उम्मेदवार घोषणाले रुपन्देही-३ को चुनावी माहोललाई थप रोचक बनाउने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 17 =