चीन प्रस्थान गर्दै प्रधानमन्त्री ओली, यस्तो छ भ्रमण तालिका

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ७ बजे चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दैछन् । उनी तियानजिनमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् ।
यस भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने तय भएको छ । भ्रमणका दौरान प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । भदौ १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ । यस सम्मेलनको साइडलाइनमा प्रधानमन्त्रीले विश्वका केही महत्त्वपूर्ण नेताहरूसँग भेटघाट गरी द्विपक्षीय हितका विषयमा छलफल गर्नेछन् । यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र क्षेत्रीय सहकार्यमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओली भदौ १८ गते बेलुकी साढे १० बजे स्वदेश फर्कने कार्यक्रम छ । यस भ्रमणले नेपालको चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको भूमिकालाई अझ सक्रिय बनाउने अवसर प्रदान गर्नेछ ।








