काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेको रङ्गभेदी अभिव्यक्तिप्रति सांसद यादवद्वारा खेद व्यक्त

काठमाडौं । नेपाली काँग्रेसकी सांसद नागिना यादवले आन्दोलनरत कवाड व्यवसायीहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले कवाड व्यवसायीहरू गत सोमवारदेखि नै सडक आन्दोलनमा रहेपनि सरकारले वार्तामार्फत उनीहरूका माग सम्बोधन नगरेकोप्रति आपत्ति जनाइन् ।
सांसद यादवले काठमाडौं महानरपालिका प्रहरी प्रमुख एसएसपी राजु पाण्डेले रङ्गभेदी भेदभाव गरेको भन्दै खेद समेत व्यक्त गरे । उनले एसएसपी पाण्डेले गोरा मात्रै नेपाली हुन् काला होइनन् भनी दिएको अभिव्यक्ति निन्दनीय रहेको उनको भनाइ छ ।
उनले भने, ‘सोमवारदेखि कवाड व्यवसायीहरू सडकमा उत्रिएका छन् । आन्दोलित छन् । उहाँहरूलाई वार्तामा बोलाएर उहाँहरूको मागहरू पुरा गर्न किन पहल गरिएको छैन ? यो पहल गरिदिन हुन म सभामुखमार्फत सरकारलाई आग्रह गर्न चाहन्छु । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुखले नेपाली गोरा मात्रै हुन काला नेपाली होइनन् भनेर कवाडी व्यवसायीहरूलाई भनेको अभिव्यक्ति खेदजनक छ । रङ्गले नेपाली हुने होइन जन्मको आधारमा आफ्नो परिचयले नेपाली हुने हो । त्यसकारण काडमाडौं महानगरका प्रहरी प्रमुखले दिनुभएको अभिव्यक्ति निन्दनीय छ । यस्ता अभिव्यक्तिप्रति उहाँले माफी माग्नुपर्छ ।’
सो अभिव्यक्तिप्रति महानगर प्रहरी प्रमुख पाण्डेले माफी माग्नुपर्ने उनको माग छ ।








