संसद राष्ट्रिय सहमतिको थलो हो : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद केवल असहमति व्यक्त गर्ने स्थल मात्रै नभई राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि भएको बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठक सुरु हुनासाथ बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भिजिट भिसा प्रकरण दुरुपयोग प्रकरणको विषयलाई लिएर संसद अवरोध गर्दै आएका दलहरू र सरकारबीच सहमतिका लागि आवश्यक छलफल र संवाद नभएको भन्दै चिन्ता व्यक्त गरे । उनले लामो समयसम्म संसदमा असहमति राख्ने र बाहिरिने प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि दीर्घकालीन रूपमा हानिकारक हुने चेतावनी समेत दिए । उनले सरकार र प्रतिपक्षी दलहरूबिच सहमति जुटाउन सम्भाव्य सबै प्रयास गर्दा पनि सहमति जुट्न नसकेको बताए ।

उनले भने ‘भिजिट भिसा प्रकरणको छानबिन लगायतका माग राखी लामो समयदेखि प्रतिपक्षी बेन्चमा रहेका माननीय सदस्यज्युहरु नियमित बैठकमा सहभागि हुनु भएको छैन । यस सम्बन्धमा सहमतिको लागि म आफैँले सम्भाव्य सबै पहल गरेकाबारे जानकार नै हुनुहुन्छ । यसका बाबजुद आज पनि म सहमतिका लागि प्रयत्नशील रहेको छु । तर सदन सुचारु बनाउन सरकार र राजनीतिक दलहरूबिच हुनुपर्ने संवाद र छलफल नभएकोमा मलाई चिन्ता लागेको छ । यसरी बैठक सुरु हुनासाथ असहमति प्रदर्शन गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीन रूपमा हानिकारक साबित हुनसक्छ भन्ने मलाई लाग्दछ । हामी भविष्यलाई के सन्देश दिइरहेका छौँ भन्ने विषयमा हामी सबै सजक हुनुपर्ने आवश्यकता छ । संसद केवल असहमति व्यक्त गर्ने स्थल मात्रै होइन । राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि हो ।’

भिजिट भिसा प्रकरण दुरुपयोग प्रकरणको निष्पक्ष छानबिन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सभाको बैठक बहिस्कार गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + two =