राजेश अहिराज थुनामै रहने, जिल्ला अदालतको फैसला उच्च अदालतबाट सदर

काठमाडौं । बलात्कार आरोपमा थुनामा रहेका मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) को थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले सदर गरेको छ ।
मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले अहिराजको थुनाबारे काठमाडौं जिल्ला अदालतको १४ साउनको आदेशलाई यथावत् राख्ने निर्णय सुनाएको हो ।
यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनीविरुद्ध दायर बलात्कार मुद्दामा थुनामा राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो । सोही आदेशविरुद्ध अहिराजले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
४ साउनमा पक्राउ परेका अहिराजमाथि काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा ४ जेठ २०८१ मा बलात्कार गरेको आरोप एक युवतीले लगाएकी थिइन् । ९ दिनको अनुसन्धानपछि सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
थुनामा पठाइएपछि अहिराजलाई डिल्लीबजार कारागार चलान गरिएको थियो । उनले भने आफूविरुद्ध झूठा आरोप लगाइएको दाबी गर्दै जाहेरी दिने युवतीविरुद्ध पनि उजुरी दिएका छन् ।
राजेश अहिराज २०७६ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका थिए । अब मुद्दाको पुर्पक्ष प्रक्रिया थुनामै रहँदै अघि बढ्नेछ ।








