संसदमा बोल्न पाउनु प्रधानमन्त्रीको अधिकार हो, हामी रोक्दैनौँ : सन्तोष परियार

काठमाडौं । भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ ।
शुक्रवारको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी दिने छन् ।
बिहीवार सभामुखसँगको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्ने क्रममा सभा बहिस्कार नगर्ने बताए ।
सदनमा बोल्न पाउने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएको उल्लेख गर्दै बोल्न पाउने कुरा अग्राधिकारमा रहने जिकिर गरे ।
आफूहरु संसदमा आन्दोलनमै भएपनि कतिपय कामहरु ख्याल गर्नुपर्ने उनको भनाइ छ । ‘हामी निरन्तर संसदमा आन्दोलनमै छौं । तर कतिपय गर्नुपर्ने कामहरुमा हामीले ख्याल पनि गरेका छौं । भोलि सम्माननीय प्रधानमन्त्रीज्यूले आसन्न उहाँको विदेश भ्रमणको बारेमा चर्चा गर्न खोज्नुभएको होला । त्यो उहाँको कुरा हो । सदनमा बोल्न पाउने उहाँको अग्राधिकार रहन्छ समय मागेपछि उहाँले बोल्नुहोला’ उनले भने ।
शनिवार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लाग्नु भएको हो ।








