एमाले नेता ऐन महर हाजिरी जमानीमा रिहा

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या र गाली बेइज्जती गरेको अभियोगमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा रिहा भएका छन् ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपकराज अवस्थीका अनुसार, विद्युतीय अपराधसम्बन्धी उजुरीको आधारमा महरलाई पक्राउ गरिएको थियो ।
तर थप अनुसन्धानका लागि उनलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएर म्याद थपको प्रयास गरिएको थियो । सो क्रममा अदालतले महरलाई हाजिरी जमानीमा रिहा गर्ने आदेश दिएको हो ।
यसअघि प्रहरीले उजुरीको आधारमा जिल्ला अदालत, काठमाडौंमा पक्राउ पुर्जी जारी गराउन अनुरोध गरेको थियो । अदालतले भदौ ९ गते महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही आधारमा बुधबार महर ब्युरोमा आफैं उपस्थित भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
बझाङका स्थायी बासिन्दा महर नेकपा एमाले निकट अनेरास्ववियुका पूर्व अध्यक्ष हुन् । उनी २०७८ मंसिरमा एमालेको केन्द्रीय सदस्यमा मनोनयन भएका थिए ।
तर यौन दुव्र्यवहारको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई केही समयका लागि निलम्बन गरेको थियो । पछि सचिवालयको निर्णयबाट उनी पुनः सक्रिय राजनीतिमा फर्किएका थिए ।
गत प्रतिनिधिसभा निर्वाचनमा महर बझाङबाट उम्मेदवार बनेका थिए । तर उनी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार भानुभक्त जोशीसँग पराजित भएका थिए ।
महरविरुद्ध यसअघि पनि बलात्कारको आरोपमा उजुरी परेको थियो । यद्यपि सो विषयमा अनुसन्धान प्रक्रिया कहाँसम्म पुगेको भन्नेबारे प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।
प्रहरी स्रोतका अनुसार महरमाथि हाल पनि विद्युतीय अपराध अन्तर्गत अनुसन्धान जारी नै छ ।








