संविधान संशोधनमा ध्यान केन्द्रित गरौँ : प्रकाशमान सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधनमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।
बुधवार नेपाली काँग्रेस आपूर्ति तथा उपभोक्ता विभागले आयोजना गरेको दैनिक उपभोग्य वस्तुको सुनिश्चितताः उपभोक्ताको अधिकार हाम्रो चासो विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।
उनले संविधानमा रहेका अफ्ठ्याराहरु फुकाउन विधि र प्रक्रियामार्फत अघि बढ्ने बताए । उनले सरकार बन्दाखेरि नै सात बुँदे सहमतिमा संविधान संशोधनको विषय प्राथमिकतामा रहेको बताए ।
संविधान बनेको एक दशक भएको र निर्वाचन पनि भइसकेको अवस्थालाई मध्यनजर गरी अफ्ठ्याराहरु फुकाउनुपर्ने बताए । ‘यो सरकारले सरकार बन्दाखेरिको जुन समझदारी छ, त्यसअनुसार संविधान जारी भएको पनि त एक दशक त भयो नि त । त्यसकारणले गर्दा संविधानको १० वर्ष अवधि पुगेको कारणले, निर्वाचन भइसकेको, काम गर्दा अफ्ठ्यारा के कस्ता छन्, संविधानमा कुनै त्यस्ता अफ्ठ्यारा बाटोहरु छन् भने त्यसलाई पहिचान गरेर विधि र प्रक्रियाबाट संशोधन गर्नेछौँ । त्यसमा हामीले त्यसमा ध्यान केन्द्रित गर्नुपर्छ’ उनले भने ।
उपप्रधानमन्त्री सिंहले प्राप्त उपलब्धिको रक्षाका लागि सबै एक हुनुपर्ने बताए ।








