सदाचार नीतिको मस्यौदाप्रति वामदेवको आपत्ति

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सदाचार नीतिको मस्यौदा लोकतन्त्रमा आधारित समाजवादउन्मुख नभएको भन्दै आपत्ति जनाएका छन् ।
बुधवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीतिको मस्यौदामाथिको छलफलमा बोल्दै यस्तो आपत्ति जनाएका छन् ।
उनले स्पष्ट संरचना समेत नभएको कारण कुनैपनि हालतमा यो सदाचार नीति लागू गर्न नमिल्ने जिकिर गरे ।
उनले सदाचार नीतिबाट आफूले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण होस् भन्ने चाहेको उल्लेख गरे । उनले बाघ भगाउन बम पड्काउनुपर्ने भन्दै भ्रष्टचारीलाई कारबाही गर्नेबारे नीतिमा कहाँ उल्लेख छ ? भन्दै प्रश्न गरे ।
उनले संविधानमै लोकतन्त्रमा आधारित समाजवाद उल्लेख गरिएपनि नेताहरुले व्यवहारमा लागु गर्न नसकेको आरोप लगाए ।
शिर्ष तहको बोलि र व्यवहार फरक भएकै कारण मुलुक बर्बादीतर्फ गइरहेको उनको आरोप छ ।








