गोरखाको चुमनुब्रीका वडाध्यक्ष रोजगारीका लागि जर्मनी प्रस्थान

काठमाडौं । गोरखाको विकट चुमनुब्री गाउँपालिका-६ का वडाध्यक्ष सरोज लामा रोजगारीको खोजीमा जर्मनी प्रस्थान गरेका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका लामाले सामाजिक सञ्जालमार्फत राजनीतिबाट सन्यास लिएको घोषणा गर्दै विदेशिएको जानकारी गराएका हुन् ।
वडाध्यक्ष लामाले आफ्नो कार्यकालमा इमान्दारीपूर्वक काम गरे पनि जस नपाएको र आत्मसन्तुष्टि प्राप्त नभएको गुनासो गरेका छन् । उनले लेखेका छन्, ‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमान्दारिताका साथ मेरो क्षमताले भ्याएसम्मको भूमिका र कार्य सम्पादन गरियो तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन । त्यसैले अबदेखि यो राजनीतिबाट सदाको लागि बिदा भएको निर्णयसहितको घोषणा गर्दै जिन्दगीलाई पुन: एकपटक शून्य अर्थात जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो ।’
वडाध्यक्ष लामाले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहकको जिम्मेवारी सुम्पेर जर्मनी गएका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले वडाध्यक्ष लामा स्वदेश नफर्किने गरी विदेश गएको जानकारी प्राप्त भएको बताए । उनले भने, ‘उहाँले लिखित रूपमा राजीनामा दिनुभएको छैन। कार्यवाहक तोकेर जानु भएको रहेछ, तर उहाँ नफर्किने रे भन्ने जानकारी आएको छ । यदि त्यसो हो भने, पछि राजीनामा पत्र पनि आउला ।’
एक युवा, जसले जनमत जितेर स्थानीय सरकारको नेतृत्व सम्हालेका थिए, उनैले राजनीतिबाट विरक्त भई विदेशिनुले नेपालको राजनीतिमा युवाको सहभागिता र उनीहरूको अपेक्षाबारे गम्भीर प्रश्न खडा गरेको छ ।








