साफ यू-१७: जित्नैपर्ने दबाबमा नेपाल, बंगलादेशविरुद्ध आज निर्णायक भिडन्त

काठमाडौं । भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा आफ्नो उपाधि रक्षाको अभियानलाई जीवित राख्न साबिक विजेता नेपालले आज (बुधबार) बंगलादेशविरुद्ध जित्नैपर्ने दबाबका साथ मैदानमा उत्रँदैछ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यो महत्वपूर्ण खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपालको यो चौथो खेल हो र उपाधि होडमा रहिरहनका लागि आजको जित अनिवार्य छ । यदि आजको खेलमा नेपाल पराजित भए, प्रतियोगितामा दुई खेल बाँकी छँदै उपाधि दौडबाट बाहिरिनेछ । आइतबार मात्रै बंगलादेशसँग ३-० गोलको हार बेहोरेको नेपालका लागि यो खेल बदला लिने अवसर पनि हो ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७-० को फराकिलो हार बेहोरेको नेपाली टोलीले दोस्रो खेलमा आयोजक भुटानलाई २-१ गोलले पराजित गर्दै पुनरागमनको संकेत दिएको थियो । तर, तेस्रो खेलमा बंगलादेशसँगको हारले नेपालको यात्रालाई थप जटिल बनाएको छ ।

आजको खेल जिते पनि नेपालको चुनौती समाप्त हुनेछैन । उपाधि जित्नका लागि नेपालले आजको खेलपछि बाँकी रहेका दुई खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ । नेपालले अगस्ट २९ मा बलियो प्रतिद्वन्द्वी भारत र अगस्ट ३१ मा आयोजक भुटानसँग खेल्नेछ । चार राष्ट्र सहभागी यस प्रतियोगितामा डबल राउन्ड रोबिन लिग प्रणालीअनुसार खेल भइरहेको छ, जहाँ अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । नेपालले सन् २०२२ मा बंगलादेशमा भएको संस्करणको उपाधि जितेको थियो । प्रतियोगिताको इतिहासमा भारत र बंगलादेशले समान दुई-दुई पटक उपाधि जितेका छन् ।

नेपाली टोली:
झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्सु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिनमाया श्रेष्ठ, अंशु विक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा लिम्बू, बब्तिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यमकुमारी विक, अनिता राना मगर, दिक्षा रनपाल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nine =