अखिल क्रान्तिकारीको आन्दोलन फिर्ता, चार विभागको शुल्क घटाउने सहमति

काठमाडौँ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका चार विभागको शुल्क घटाउने सहमति त्रिभुवन विश्वविद्यालय (त्रिवि) र अखिल (क्रान्तिकारी)बीच भएको छ । त्रिविको केन्द्रीय क्याम्पसमा ३४ दिनदेखि जारी आन्दोलन चार बुँदे सहमतिसँगै अन्त्य भएको हो ।
सहमति अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागको शुल्क घटाइ एक लाख १० हजार रुपैयाँ कायम गरिने भएको छ । सोही शुल्क दर हालकै दोस्रो सेमेस्टरदेखि कार्यान्वयन गरिने त्रिवि र विद्यार्थी संगठनबीचको सहमतिपत्रमा उल्लेख छ ।
त्रिवि नियमानुसार विद्यार्थीलाई उपलब्ध हुने छात्रवृत्ति लागू गर्ने र विभागहरूमा आवश्यक भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्दै लैजाने सहमति पनि भएको छ ।
सहमति भएसँगै अखिल (क्रान्तिकारी) ले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । चार विभागको मनपरी शुल्कविरुद्ध संगठनले नियमित कक्षा, परीक्षा बहिष्कारदेखि तालाबन्दीसम्मको कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
शुल्क घटाउने सहमति भएपछि विद्यार्थीले सहज रूपमा अध्ययन गर्न पाउने वातावरण बनाउने त्रिविको प्रतिबद्धता छ । संगठनले पनि सहमतिका बुँदाहरूको कार्यान्वयनमा ध्यान दिने जनाएको छ ।








