पूर्वराष्ट्रपति भण्डारी र रास्वपाका प्रवक्ता मनिष झाबीच भेटवार्ता
‘रविजीप्रति मेरो सद्भाव छ, सहकारीको पैसा सरकारकै जिम्मा हो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झा र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटवार्ता भंगालस्थित पूर्वराष्ट्रपति निवासमा सम्पन्न भएको हो ।
भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले सहकारी काण्डमा रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागारमा पठाइएको विषयप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । उनले उक्त मुद्दामा लामिछानेप्रति आफूको सद्भाव रहेको उल्लेख गर्दै अहिले भइरहेको घटनाक्रमप्रति चिन्ता व्यक्त गरिन् ।
‘रविजीमाथि जे भइरहेको छ, त्यसमा म सन्तुष्ट छैन, उहाँप्रति मेरो सद्भाव छ,’ प्रवक्ता झासँगको कुराकानीमा भण्डारीले भनिन् ।
उनले सहकारी काण्डलाई राजनीतिक मुद्दा बनाइएको आरोप समेत लगाइन् । ‘सहकारीको विषयलाई राजनीतिक मुद्दामात्रै बनाइयो, बचतकर्ताहरूको बचत सरकारले फिर्ता गरेको छैन । चाडपर्वको मुख छ, बचतकर्ताहरूले आफ्नो पैसा फिर्ता पाउनुपर्ने हो नि !’ भण्डालिे भनिन् ।
रविलाई सुरूमा रूपन्देही कारागारमा राखिएकोमा हालै नख्खु कारागार ल्याइएको छ । भेटवार्तामा प्रवक्ता झाले भण्डारीसँग एमाले पार्टी सदस्यतासम्बन्धी विषयमा पनि कुरा भएको बताए । झाका अनुसार भण्डारीले केही समयअघि ऋषि धमलासँगको अन्तर्वार्तामा एमाले अध्यक्ष केपी ओलीले आफूलाई पार्टीमा फर्कन कुनै समस्या नरहेको अभिव्यक्ति दिएको स्मरण गराएकी थिइन् ।
‘उहाँले सदस्यता रोक्नुपर्ने कुनै कारण छैन भनेर भन्नुभयो,’ झाले भने, ‘उहाँ अझै पनि एमालेमै हुनुहुन्छ भन्ने संकेत दिनुभयो ।’
यद्यपि एमालेको गत साउनमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा संलग्न हुन रोक लगाउने निर्णय गरिसकेको छ । त्यसपछिसमेत भण्डारीले राजनीतिक भेटघाट र अभिव्यक्तिहरू दिँदै आएकी छन् ।
पूर्वराष्ट्रपतिले राजनीतिमा नयाँ पुस्ता र विचारको आगमनप्रति सकारात्मक टिप्पणी गर्दै रास्वपाले ल्याएको राजनीतिक नवीनताप्रति प्रशंसा पनि व्यक्त गरेकी थिइन् ।








