अस्ट्रेलियामा आसिफको तुफानी ब्याटिङ, नेपालले दियो १७८ रनको बलियो लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको छ । मंगलबार डार्विनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) लाई जितका लागि १७८ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याउन ओपनर आसिफ शेखले विष्फोटक अर्धशतकीय पारी खेले । क्रिजमा सुरुदेखि नै आक्रामक देखिएका उनले मात्र ३८ बलमा ५ छक्का र ४ चौकाको मद्दतले सर्वाधिक ६९ रन बनाए । उनको यो शानदार प्रदर्शनले नेपालको इनिङ्सको बलियो आधार तयार पारेको थियो ।
आसिफलाई कप्तान रोहित पौडेलले पनि राम्रो साथ दिए । उनले ३६ रनको महत्वपूर्ण योगदान गरे । यद्यपि, अन्य ब्याट्सम्यानले लामो साझेदारी निभाउन नसक्दा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पार्यो ।
विश्वकप छनोटको अन्तिम तयारी
विश्वकप छनोटको अन्तिम तयारीलाई चुस्त बनाउने लक्ष्यका साथ नेपालले अस्ट्रेलियामा यी अभ्यास खेलहरू खेलिरहेको हो ।यसअघि डार्विनमै सम्पन्न ‘टप एन्ड टी-२०’ सिरिजमा सहभागी भएको नेपालले त्यहाँको अनुभवलाई यहाँ उपयोग गर्न खोजेको देखिन्छ । उक्त सिरिजमा नेपाल ११ टोलीमध्ये आठौं स्थानमा रहेको थियो । यो अस्ट्रेलिया भ्रमणलाई विश्वकप छनोटअघिको सबैभन्दा महत्वपूर्ण तयारीका रूपमा हेरिएको छ ।
यो खेल सकिएलगत्तै नेपालले आजै एसीटीसँग दोस्रो टी-२० अभ्यास खेल पनि खेल्नेछ । यसपछि नेपाली टोलीले २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टोलीसँग दुई टी-२० र एक एकदिवसीय खेल खेल्ने तालिका रहेको छ ।








