अस्ट्रेलियामा नेपाली क्रिकेट टोलीको तयारी : पहिलो खेलमा नेपालको सानदार ब्याटिङ जारी

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्धको अभ्यास सिरिजमा प्रतिस्पर्धा गरिरहेको छ । पहिलो टी-२० खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

नेपाली टोलीका ओपनर ब्याट्सम्यान आसिफ शेखले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका छन् । डार्विनमा जारी खेलमा आसिफले ३ छक्का र ४ चौकाको मद्दतले ५० रन बनाएका हुन् । उनको उत्कृष्ट प्रदर्शनमा नेपालले ९ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ८० रन बनाएर खेलिरहेको छ ।

यो “प्रेप सिरिज” अन्तर्गत नेपालले एसीटीसँग आज दुईवटा टी-२० खेल खेल्दैछ । पहिलो खेल नेपाली समयानुसार विहान पौने ६ बजेबाट सुरु भएको हो भने दोस्रो खेल विहान पौने १० बजेबाट हुने तालिका छ ।

यसअघि डार्विनमै भएको ‘टप एन्ड टी-२०’ सिरिजमा नेपालले मिश्रित प्रदर्शन गरेको थियो । ११ टोली सहभागी उक्त प्रतियोगितामा नेपाल आठौं स्थानमा रहेको थियो । सो प्रतियोगितापछि विश्वकप छनोटको तयारीलाई थप बलियो बनाउन नेपालले थप पाँच अभ्यास खेल खेल्न लागेको हो ।

एसीटीसँगको दुई टी-२० पछि नेपाली टोलीले साउथ अस्ट्रेलियाको टिमसँग पनि प्रतिस्पर्धा गर्नेछ । नेपालले साउथ अस्ट्रेलियासँग दुई टी-२० र एक दिवसीय खेल खेल्ने तालिका रहेको छ ।

आगामी विश्वकप छनोट प्रतियोगितालाई मध्यनजर गर्दै नेपालको अस्ट्रेलिया भ्रमणलाई निकै महत्वपूर्ण मानिएको छ । बलियो टोलीविरुद्ध अस्ट्रेलियाको भूमिमा अभ्यास गर्दा नेपाली खेलाडीको मनोबल उच्च हुने र कमजोरी सुधार गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =