वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वैज्ञानिक समाजवादलाई कार्यान्वयन गरी जनताको जीवन पद्धतिमा उतार्नुपर्ने बताएका छन् ।

पार्टीको चौथो स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष नेपालले दिवसलाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताउँदै समाजवाद, समानता र जनकल्याणको आन्दोलनलाई निरन्तर अघि बढाउनुपर्ने बताए ।

जनताका समस्यालाई कसरी समाधान गर्ने सकिन्छ भन्ने विषय बुझ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले भने ‘वैज्ञानिक समाजवाद भन्ने कुरा केवल शब्दले मात्र पुग्दैन, यसको अध्ययन र अभ्यास दुवै महत्त्वपूर्ण हुन्छ ।’

पार्टी र आन्दोलनलाई अघि बढाएर लक्ष्यमा पु–याउन सर्वहारा वर्गीय चरित्रलाई विशेष महत्व दिनुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले मुलुकको राजनीति र कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेको आफ्नो पार्टीलाई सशक्त नबनाएसम्म त्यो भूमिका निर्वाह गर्न नसकिने उल्लेख गरे ।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वैचारिक अस्पष्टताले देशमा अहिले सबै राजनीतिक दल सङ्कटमा रहेको बताए ।

जनअधिकारका मुद्दामा एकीकृत समाजवादीले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । उनले भने ‘स्थानीय, प्रदेश र केन्द्रीय तहमा देखिएका समस्या समाधानका लागि हाम्रो पार्टी सदैव अग्रपंक्तिमा रहन्छ ।’

पार्टीका वरिष्ठ नेता वामदेव गौतमले सङ्गठन सुदृढीकरणका लागि आफूलाई जिम्मेवारी उपलब्ध गराउन माग गर्दै भूगोल केन्द्रित नेताहरुले सम्बन्धित क्षेत्रमा क्रियाशील रही योगदान गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =