राप्रपा नेपालका अध्यक्ष थापासँग इजरायलका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासँग नेपालका लागि इजरायलको राजदूत शामुलिक अरि बासले आज भेटवार्ता गरेका छन् ।
पूर्वउपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्रीसमेत रहेका थापाले भेटका क्रममा वर्तमान अवस्थामा बदलिँदो भूराजनीतिक आयाम र यसले थपेका जटिलताहरुले क्षेत्रीय शान्ति मूलतः मध्यपूर्वमा समेत असर पारेको बुझ्न सकिने चर्चा गरे ।
इजरायलले नेपाली श्रमिकहरुलाई रोजगारीको अवसर उपलब्ध गराएको, विद्यार्थीहरुलाई तालिम र कृषिलगायतका अन्य क्षेत्रमा पु¥याएको सहयोगका लागि अध्यक्ष थापाले धन्यवाद व्यक्त गरे । हमासले बन्धक बनाएका बिपिन जोशीको रिहाइका लागि आवश्यक पहल गर्न उनले सम्बद्ध इजरायली पक्षसँग अनुरोध गरे ।
भेटका क्रममा राजदूत बासले हमासले इजरायलमाथि गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीहरुको ज्यान गएको विषय र एक जना बिपिन जोशीलाई बन्धक बनाएको विषयमा दुःख व्यक्त गरे ।
बिपीनकी आमा र बहिनीलाई इजरायल लगेर बन्धक छुटाउन अन्तरराष्ट्रिय दबाब दिन प्रयास गरिएको उनले जानकारी दिए ।
नेपाल र इजरायलबीचको कूटनीतिक सम्बन्धको चर्चा गर्दै उनले आपसी हितका कृषि, प्राविधिक, शैक्षिक, श्रमलगायत विविध क्षेत्रका पक्षमा इजरायलले थप सहयोग गर्ने विश्वास व्यक्त गरेको पार्टीका अन्तरराष्ट्रिय सम्बन्ध विभागका सदस्य–सचिव राजाराम बर्तौलाले जानकारी दिए ।








