सहकारी ठगी प्रकरण: रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालतमा रिट

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन दर्ता भएको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।
सुप्रिम सहकारीमा ठगी अभियोग लागेपछि लामिछाने गत चैत २५ गतेदेखि कारागारमा छन् । हाल उनी नख्खु कारागारमा रहेका छन् ।
लामिछानेले आफू सहकारी ठगीमा संलग्न नरहेको जिकिर गर्दै पीडितको बचत फिर्ता गराउने पहल आफैंले गर्ने तर्कसहित छुटको माग गरेका छन् ।
जिल्ला अदालत रूपन्देहीमा साउन १९ गते दायर निवेदनमा लामिछानेले ठगी प्रकरणमा आफूलाई थुनामा नराखी रिहा गर्न माग गर्दै २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेश गरेका थिए । तर, अदालतले उक्त माग अस्वीकार गर्दै थुनामै राखेर अनुसन्धान अघि बढाउने आदेश दिएको थियो ।
यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पनि चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशलाई सर्वोच्च अदालतले समेत सदर गरिसकेको छ ।








