रवि लामिछानेकी पत्नी भन्छिन्– ‘मेरो श्रीमानको जीवन सुरक्षित छैन’

काठमाठौं । रास्वपाका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो श्रीमानको जीवन सुरक्षित नभएको बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै श्रीमानको जीवन सुरक्षित नभएको बताएकी हुन् । ‘मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन । भैरहवा कारागारमा उहाँलाई कसरी राखिएको थियो, अब मैले केही भनिरहन पर्दैन’ उनले लेखेकी छन् ।
उनले न्यायको लागि संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढकढक्याउने बताइन् । उनले उच्च अदालत, बुटवलको ढोका पनि ढकढक्याएको बताएकी छन् ।
उनले बिगो तोकेर बिगो बराबरको बैँक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न पाउनुपर्ने बताइन् । ‘बिगो तोकिदेऊ र त्यो बराबरको बैँक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न देउ, मेरो आग्रह यत्ति हो’ उनले लेखेकी छन् ।
उनको स्ट्याटस जस्ताको तस्तै
आज मैले उच्च अदालत, बुटवलको ढोका पनि ढक्ढक्याएँ ।
मेरो श्रीमान् भन्नुहुन्छ, “यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिदेउ ।” तर, श्रीमतीका रुपमा मेरो पनि जिद्दी छ, न्याय पाइयोस कि नपाइयोस, म संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढकढक्याउने छु ।
मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन । भैरहवा कारागारमा उहाँलाई कसरी राखिएको थियो, अब मैले केही भनिरहन पर्दैन । यिनीहरूले किन जेल सार्न मानिरहेका थिएनन्, यिनिहरुको नियत के थियो, त्यो पनि बताइरहन पर्दैन । आफैले झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको चरम दुरुपयोग गरेर जेलमा थुनेको एउटा बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसद्को रोष्ट्रमबाट किन धम्क्याइरहेका होलान्, त्यो पनि अब मैले भनिरहन पर्दैन ।
बिगो तोकिदेऊ र त्यो बराबरको बैँक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न देउ, मेरो आग्रह यत्ति हो ।








