पशुवस्तुलाई पौष्टिक आहार खुवाउन साइलेज उद्योग स्थापना

तनहुँ । जिल्लाको भिमाद नगरपालिका–६ मालेबगरमा साइलेज उद्योग सञ्चालनमा आएको छ ।

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत भिमाद नगरपालिकाले साझेदारीमा साइलेज उद्योग स्थापना गरेको हो ।

गण्डकी प्रदेश सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा उद्योग स्थापना भएको नगरपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक सुदीप गैह्रेले जानकारी दिए ।

५६ लाख १८ हजार ७७१ को लागतमा उद्योग स्थापना गरिएको छ । उहाँका अनुसार उद्योगमा संरचना निर्माणका लागि २२ लाख १८ हजार ७७१ खर्च भएको छ भने उपकरण जडानमा ३४ लाख खर्च भएको छ ।

किसानले पालेका पशु वस्तुलाई पौष्टिक आहारयुक्त घाँस खुवाउने उद्देश्यसहित साइलेज उद्योग स्थापना गरिएको गैह्रेले बताए ।

नगर पशुपालनका लागि प्रशस्त सम्भावना भएको क्षेत्र भएकाले यहाँका कृषकले पालेका पशु वस्तुलाई पौष्टिक आहारयुक्त आहारको अभाव नहोस् भन्ने उद्देश्यले उद्योग स्थापना गरिएको उनको भनाइ छ ।

उनले भने, ‘हिउँदको समयमा पशुलाई खुवाउन तराई, मधेस र भारतबाट पराल आयात गरेर ल्याउनुपर्ने बाध्यता छ । वर्षायाममा नेपियर, मकैलगायत घाँस खेर जाने र हिउँदमा पैसा तिरेर ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न यस उद्योगले सहयोग पुग्नेछ ।’

डाँठ भएका घाँसलाई साइलेज बनाएर पशुलाई खुवाउँदा पशुको वृद्धिविकासका लागि उपयोगी हुने पशु स्वास्थ्य प्राविधिक गैह्रेले विश्वास व्यक्त गरे । ‘घाँसलाई चापकटरको माध्यमबाट काटिन्छ र ‘व्यारलमेसिन’मा हालेर प्लाष्टिकले बेरी साइलेज उत्पादन गरिन्छ’, उनले भने, ‘साइलेज बनेको ६० दिनभित्र खुवाउन उपयुक्त हुन्छ । हिउँदको समयमा पर्याप्त घाँस नहुने भएकाले वर्षायामको घाँस सदुपयोग गरी हिउँदमा किसानलाई उपलब्ध गराउँछौँ ।’ दुधिलो मकैबाट साइलेज बनाएमा दाना, कुँडो कटौती गरेर खुवाउन सकिने उनको भनाइ छ ।

गैह्रेका अनुसार दुहुना गाईभैँसी, बाख्रा, बङ्गुर, माछालाई पनि साइलेज खुवाउन सकिन्छ । साइलेज उद्योग सञ्चालनको जिम्मेवारी भिमाद कृषि उद्यम सहकारी संस्थाले पाएको छ ।

नगरपालिकाभित्र रहेका विभिन्न सहकारीसँग आवेदन माग गरेकामा उक्त सहकारीले सञ्चालनको जिम्मा पाएको हो ।

उद्योग सञ्चालनका लागि नगरप्रमुख दधिराज सुवेदीको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ ।

उद्योग सञ्चालनबाट भएको नाफा सहकारी र नगरपालिकालाई ५०/५० प्रतिशत बाँडफाँट गर्ने सम्झौता भएको छ ।

यहाँका किसानले घाँस, मकै ल्याई साइलेज बनाएर लैजान सक्नेछन् भने किसानले उत्पादन गरेका घाँस उद्योगमा ल्याएर बिक्री गर्न सक्ने व्यवस्था गरिएको सहकारीका अध्यक्ष नारायणप्रसाद पौडेलले जानकारी दिए । त्यस्तै तयारी भएको साइलेज खरिद गर्न सक्ने समेत व्यवस्था मिलाइएको छ ।

किसानले मकैको बोट ल्याएर बिक्री गर्दा प्रतिकिलो आठ प्राप्त गर्नेछन् भने नेपियरको प्रतिकिलो रु चार मूल्य निर्धारण गरिएको छ । आफैँ बनाएर लैजानुपर्दा प्रतिकिलो रु पाँच तिर्नुपर्दछ ।

तयारी साइलेज खरिद गर्नुपर्दा नेपियरको साइलेज प्रतिकिलो १२ र मकैको प्रतिकिलो १६ मूल्य निर्धारण गरिएको छ ।

भिमाद–५ का भैँसीपालक कृषक मेघराज मरासिनीले हिउँदको समयमा घाँस अभाव हुँदा साइलेजको प्रयोग गर्न सकिने भएपछि कृषकलाई फाइदा पुग्ने बताए ।

उनले भने, ‘हिउँदमा हरिया घाँस पाइँदैन । तराईबाट ल्याएको परालमा भर पर्नुपर्ने बाध्यता छ । साइलेजले गर्दा हरियो घाँसको मात्रा र आफ्नै घाँस प्रयोग गर्न सकिने हुँदा धेरै सजिलो हुने भयो ।’ साइलेज पशु वस्तुका लागि पौष्टिक आहार हुने भएकाले कृषकका लागि उपयोगी हुने उनको भनाइ छ ।

भिमाद–८ का कृषक सूर्यप्रसाद पराजुलीले पशु आहारका लागि घाँस त्यतिकै खुवाउँदा पशुले राम्रोसँग नखाने, आधा फालिदिने समस्या रहँदै आएकाले साइलेज बनाएर खुवाउनुपर्ने बताए ।

उनले भने, ‘साइलेज खुवाउँदा दूधको मात्रा बढ्ने, मासु पनि बढ्ने र पशुको स्वास्थ्य पनि राम्रो हुने रहेछ ।’ किसानले तराई मधेसबाट पराल खरिद गरेर ल्याउनुभन्दा साइलेज खुवाउँदा लागत पनि कम पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + sixteen =