नेकपा एसमा प्रवेश गरेको दुई महिनासम्म कुनै जिम्मेवारी पाइनँ : वामदेव गौतम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले पार्टीका नेताहरू काठमाडौं केन्द्रित भएको भन्दै आलोचना गरेका छन् ।
आईतवार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै वरिष्ठ नेता गौतमले यस्तो बताएका हुन् ।
पार्टीका सबै शीर्ष नेता राजधानी उपत्यकामा मात्र रहने प्रवृत्तिका कारण पार्टी संगठनलाई कमजोर बनाएको उनको भनाइ छ ।
उनले पार्टीका सबै सदस्यहरुलाई कुनै न कुनै जिम्मेवारी तोक्नुपर्नेमा जोड दिए । उनले पार्टीमा बसेर पार्टीको नीति र सिद्धान्त पालना नगरेका नेताहरुलाई ‘नक्कली कम्युनिष्ट’को संज्ञा दिए ।
उनले सदस्यले समाजवाद बुझ्ने, समाजवाद निर्माणका लागि आजको परिस्थितिमा आवश्यक कार्य गर्ने र जनतासम्म पुग्ने जिम्मेवारी लिनुपर्ने आवश्यकता औंल्याए ।
पार्टीका शीर्ष नेताहरु जनतामाझ नगएसम्म कार्यकर्तामा उत्साह पैदा नहुने उनको भनाइ छ । आफूमा पार्टीमा आवद्ध भएको दुई महिना पुग्दा समेत पार्टीले जिम्मेवारी नदिएको भन्दै उनले गुनासो समेत गरे ।
कम्युनिष्ट पार्टीहरु सिद्धान्तबिना चल्न नसक्ने उल्लेख गर्दै उहाँले अन्तरपार्टी संघर्ष आवश्यक रहेको बताए ।








