विप्लवसँग एकताको पहल तीव्र, प्रचण्ड आफै पुगे हरिसिद्धि निवास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । पार्टी एकता प्रक्रियालाई मूर्त रुप दिने उद्देश्यले अध्यक्ष प्रचण्ड सोमबार बिहान विप्लवलाई भेट्न उनकै हरिसिद्धिस्थित निवासमा पुगेका थिए ।
दुई नेताबीच करिब आधा घण्टाभन्दा बढी समय समसामयिक राजनीतिक परिस्थिति र दुई पार्टीबीचको एकताका विषयमा केन्द्रित रहेर छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । यो भेटवार्ताले तत्कालीन माओवादीबाट विभाजित भएका शक्तिहरुलाई एकै ठाउँमा ल्याउने प्रयासले थप गति लिएको संकेत गरेको छ ।
यसअघि, गत साउन १६ देखि १९ गतेसम्म बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउनका लागि एक समिति गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्ने सिलसिलामा अध्यक्ष प्रचण्ड आफैं अग्रसर भएर विप्लव निवास पुगेका हुन् ।
माओवादी केन्द्रले यसअघि नै नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ, यद्यपि कार्यदल भने गठन हुन बाँकी छ । अर्कोतर्फ, नेकपाले पनि भदौ २२ गते बस्ने केन्द्रीय समिति बैठकमा एकताको विषयमा ठोस निर्णय लिने तयारी गरेको बुझिएको छ ।
पछिल्लो समय अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका सबै धारहरु एक ठाउँमा उभिनुपर्ने आवश्यकतामा जोड दिँदै आएका छन् । दुई नेताबीचको यो भेटले एकताको आधार र आगामी रणनीतिका विषयमा महत्वपूर्ण विचार-विमर्श भएको बताइएको छ । यसले छरिएर रहेका पूर्वमाओवादी शक्तिहरुलाई एकताबद्ध गरी बलियो कम्युनिष्ट केन्द्र निर्माण गर्ने प्रयासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।








