सबै कीर्तिमान तोड्दै सकियो नाडा अटो शो, १ लाख ७६ हजार बढीले गरे अवलोकन (तस्बिरहरु)

काठमाडौं । सवारी साधन तथा अटोमोबाइल उद्योगको नेपालकै सबैभन्दा ठूलो मेला ‘नाडा अटो शो २०२५’ कीर्तिमानी दर्शकको सहभागितासहित सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा आइतबार भृकुटीमण्डपमा आयोजित एक समारोहबीच १७औँ संस्करणको प्रदर्शनी समापन भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको छ दिने लामो प्रदर्शनीमा कुल १ लाख ७६ हजार ७ सय ८९ जनाले अवलोकन गरेका छन्, जसले यसलाई हालसम्मकै सबैभन्दा ऐतिहासिक र सफल संस्करण बनाएको छ । यस पटकको अटो शोमा राखिएका आकर्षक स्टलहरू, पछिल्ला मोडलका सवारीसाधन र विशेषगरी नयाँ प्रविधिले अवलोकनकर्ताको ध्यान खिचेको थियो । उड्ने कार, रोबोटिक म्यान तथा विभिन्न नयाँ ब्रान्डका विद्युतीय सवारीसाधन (ईभी) हरू प्रदर्शनीका मुख्य आकर्षण बने ।
आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सुस्ताएको अटोमोबाइल व्यवसायका बाबजुद आयोजना गरिएको यो प्रदर्शनीले समग्र उद्योगलाई मात्र नभई देशको अर्थतन्त्रलाई नै चलायमान बनाउन मद्दत पुग्ने विश्वास लिएको बताएको छ । प्रदर्शनीको समापनसँगै नाडाले एक ऐतिहासिक निर्णयको प्रस्ताव समेत अघि सारेको छ । समापनकै दिन बसेको नाडा केन्द्रीय कार्यसमितिको २१०औँ बैठकले ‘नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल’लाई ‘नाडा अटोमोबाइल्स महासङ्घ नेपाल (Federation of NADA Automobiles Nepal)’ मा रूपान्तरण गर्ने निर्णय गरेको छ । यस प्रस्तावलाई पारित गर्नका लागि भदौ २४ गते विशेष साधारण सभा आह्वान गरिएको छ। यो कदमलाई नाडाको स्वर्ण जयन्ती वर्षतर्फको ऐतिहासिक तयारीका रूपमा लिइएको छ ।
प्रदर्शनीमा सहभागी कम्पनीहरूमध्ये उत्कृष्ट स्टलहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको छ। यस पटकको उत्कृष्ट चारपाङ्ग्रे सवारीको स्टल अवार्ड दिपाल, एमएडब्लू अटोकर्प प्रा.लि.ले जित्यो भने दुईपाङ्ग्रेतर्फको स्टल रोयल इनफिल्ड अल्फा अटोमोटिभ प्रा.लि.ले हात पार्यो । त्यसैगरी, लाइट कमर्सियलतर्फ म्याक्स-श्री अटो र बेस्ट सपोर्टिङ स्टलतर्फ हिल्टप प्रा.लि. पुरस्कृत भए। बैंकिङ तथा इन्स्योरेन्सतर्फको अवार्ड ग्लोबल आईएमई बैंक लिमिटेडले जितेको छ ।
प्रदर्शनी अवधिभर हरेक दिन विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रमहरू पनि आयोजना गरिएका थिए। अन्तर्राष्ट्रिय अटो ट्रेड डायलग, विद्युतीय सवारीको भविष्य, कर्जा नीतिमा स्थिरता, फ्लाइङ कार टेक्नोलोजी, सडक तथा यातायात र ‘मेड इन नेपाल’ जस्ता महत्त्वपूर्ण विषयहरूमा विज्ञहरूबीच छलफल भएको थियो । यी कार्यक्रमहरूले अटोमोबाइल क्षेत्रका नीतिगत तथा व्यावहारिक पक्षबारे विमर्श गर्न महत्त्वपूर्ण मञ्च प्रदान गरेका थिए ।
नाडाका अध्यक्ष करण चौधरीले अटो शोलाई सफल बनाउन सहयोग पुर्याउने सबै सरोकारवालाहरूलाई धन्यवाद दिए । शो अवधिभर लायन्स क्लब अफ काठमाडौँसँगको सहकार्यमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।









