भ्रष्टाचार मुद्दामा सुनिल पौडेललाई १ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासमा आइतबार थुनछेक बहस सम्पन्न भएपछि पौडेलसँग धरौटी माग गरिएको हो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, अन्य प्रतिवादी उपस्थित नहुँदा थुनछेक बहसमा पौडेल मात्र सहभागी थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको असार २७ गते पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा करिब १६ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

मुद्दामा तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वल्र्ड डिस्ट्रिब्युसन नेपाल प्रालिका अध्यक्ष अरुण श्रेष्ठ प्रतिवादी छन् ।

अख्तियारका अनुसार, सूचना प्रविधि केन्द्रको ’हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिदमा मिलेमतो गरी कम क्षमताको तथा गुणस्तरहीन सामग्री आपूर्ति गरेर राज्यलाई १५ करोड ८८ लाख ५० हजार रुपैयाँको आर्थिक हानि पुगेको छ ।

केन्द्रले आर्थिक वर्ष २०७६/७७ मा प्रकाशन गरेको बोलपत्रमा २.४ गिगाहर्ज क्षमताको प्रोसेसर माग गरिएको भए पनि आपूर्तिकर्ता कम्पनी वल्र्ड डिस्ट्रिब्युसन नेपालले २.१ गिगाहर्ज क्षमताको प्रोसेसर जडान गरेको अख्तियारको अनुसन्धानबाट खुलेको हो । यसैका आधारमा अख्तियारले कार्यसम्पादन क्षमता झन्डै १४.२८ प्रतिशतले घटेको दाबी गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

यसअघि पनि पौडेलविरुद्ध आरआईएससी र एचसीआई सर्भर खरिदमा ३ अर्ब १४ करोड रुपैयाँ र सुरक्षा तथा नेटवर्क उपकरण खरिदमा ३ करोड ८ लाख रुपैयाँको भ्रष्टाचार अभियोगमा मुद्दा दायर भइसकेको छ ।

यसपटकको मुद्दामा अख्तियारले ६ जनै प्रतिवादीबाट जनही १५ करोड ८८ लाख रुपैयाँ असुलउपर गर्ने माग गर्दै सजायको माग दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 2 =