समानुपातिक समावेशी निर्वाचन प्रणाली बनाउन राजनीतिक दलहरु सजग हुनुपर्छ : परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले समानुपातिक समावेशी प्रतिनिधित्वको सिद्धान्त कार्यान्वयनमा राजनीतिक नेतृत्वले सजग हुन आवश्यक रहेको बताएका छन् ।
आईतवार काठमाडौंमा आयोजित एकीकृत निर्वाचन विधेयकसम्बन्धी दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
वर्तमान निर्वाचन प्रणालीले जनसंख्याको वास्तविक घनत्वअनुसार सहभागिता सुनिश्चित नगरेको उल्लेख गर्दै सुधारको आवश्यकता औंल्याए ।
ऐन कानूनमा समावेशी भनेर व्यवस्था राखेको भएपनि समानुपाति समावेशी सिद्धान्तअनुरुप अघि नबढ्दा समस्या भएको उनको तर्क छ ।
उनले अब जसको जति घनत्व, उसको त्यति नै प्रतिनिधित्व हुने व्यवस्थामा हामी निर्मम भएर जानुपर्ने धारणा राखे ।
उनकाअनुसार हाल मुलुकमा ५० प्रतिशतभन्दा बढी महिलाको जनसंख्या भए पनि उनीहरूको सहभागिता १० प्रतिशतभन्दा कम रहेको भने दलित समुदायको सहभागिता १३.८ प्रतिशत भनिएपनि ५ प्रतिशतमा सिमित राखिएको छ ।
समानुपातिक समावेशी सिद्धान्तको प्रभावकारी कार्यान्वयन गर्नका लागि उहाँले सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले)लाई आग्रह समेत गरे ।








