राज्य व्यवस्था समितिको सभापति चयन गर्न सभामुख घिमिरे सक्रिय छलफलमा

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
प्रतिनिधि सभा नियमावलीअनुसार निर्वाचन तालिका सार्वजनिक गर्ने आज अन्तिम दिन रहेकोले सभामुख देवराज घिमिरे सक्रिय रुपमा दलहरूसँग छलफलमा जुटेका छन् ।
सभामुख घिमिरेले आज बिहानै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेका थिए । अहिले पनि सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा कांग्रेस सांसद दिलेन्द्र बडूसहित प्रमुख सचेतक घिमिरे सहभागी छलफल जारी छ ।
गत शुक्रबार पनि सभामुख घिमिरेले नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेसँग एकल र संयुक्त छलफल गरेका थिए । उनले गृहमन्त्री रमेश लेखकसँग समेत परामर्श गरेका थिए ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । प्रतिनिधि सभा नियमावलीको नियम १७७ को उपनियम ५ अनुसार यो पद रिक्त भएको मितिले १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्नुपर्ने प्रावधान छ । त्यसअनुसार भदौ ११ गतेभित्र सभापति चयन अनिवार्य छ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचन हुने मितिभन्दा ४८ घण्टा अघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था रहेकोले आजै निर्वाचन तालिका सार्वजनिक गर्नु आवश्यक भएको हो ।
सभामुख घिमिरे निरन्तर छलफलमा जुटिरहेको सन्दर्भमा समितिको नेतृत्व चयनको प्रक्रिया छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।








