एमसीसी परियोजना सैन्य रणनीतिसँग जोडिए खारेज गर्नुपर्छ : महासचिव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग सैन्य रणनीति जोडिएको छ कि छैन भन्ने विषयमा गम्भीर निगरानी गर्नुपर्ने बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । हालसम्म परियोजना कार्यान्वयनका क्रममा जग्गा अधिग्रहणलगायतका पक्षमा सैन्य योजनासँग प्रत्यक्ष सम्बन्ध नदेखिएको भएपनि भविष्यमा त्यस्तो सम्बन्ध पुष्टि भएको खण्डमा सरकारले तत्काल त्यसलाई खारेज गर्ने तयारीका साथ सजकता अपनाउनुपर्ने उनको भनाइ छ ।

उनले एमसीसीलाई विकास परियोजना र आर्थिक सहयोगको दृष्टिले हेर्दा सारकात्मक भएको पनि टिप्पणी गरे ।

उनले आर्थिक सहायतार्फत प्राप्त सहयोगले नेपालको कृषि, औद्योगिक अर्थतन्त्र र राष्ट्रिय पूँजी निर्माणमा टेवा र्पुयाउन सक्ने वा नसक्ने विषय निक्र्यौल गरेर मात्र निर्णय गर्नुपर्ने आवश्यकता समेत औंल्याए ।

उनले भने ‘नेपाल सकारको तर्फबाट एमसीसी सैन्य योजनासँग जोडिएको छ कि छैन भन्ने कुराको गम्भीर निगरानी गर्नुपर्छ । यद्यपि अहिलेसम्म परियोजना कार्यान्वयनका लागि जग्गा अधिग्रहण लगायतका विषयमा सैन्य रणनीतिसँग जोडिएको देखिएको छैन । तर पनि हामीले हेर्न जरुरी छ भन्ने लाग्छ । कुनैपनि समयमा सैन्य रणनीतिसँग जोडिएको पुष्टि भएको खण्डमा यसलाई खारेज गर्नको लागि नेपाल सरकार तत्पर रहनुपर्छ भन्ने मानसिकताका साथ हामीले सजकता अपनाउनु पर्छ । विकास परियोजनाको रुपमा बाट हेर्दा आर्थिक सहायता लिन नसकिने त होइन । तर यसरी सहायता लिँदा नेपाल सरकारले कृषि अर्थतन्त्र, औद्योगिक अर्थतन्त्र र राष्ट्रिय पुँजी निर्माण गर्न सकिन्छ कि सकिँदैन भन्नेकुरा हेर्न जरुरी छ ।’

राष्ट्रिय पुँजी निर्माणलाई कुण्ठित गर्ने आर्थिक सहायता लिन नहुनेमा उनको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =