रक्तदान परोपकारी हितसँगै स्वयंको पनि हित हो : प्रदेश प्रमुख भट्ट

गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदानले परोपकारी हितसँगै स्वयं व्यक्तिको पनि हित हुने बताएका छन् ।
बह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल पार्दी शाखाले आज आयोजना गरेको रक्तदान शिविरको उद्घाटन गर्दे उनले रक्तदान कार्यक्रम मानवीय, धार्मिक र सामाजिक कर्मसँग जोडिएको पवित्र कार्य रहेको बताए ।
उनले स्वेच्छिक रक्तदान एउटा महत्वपूर्ण मानवीय र सामाजिक सेवा भएको बताए । यस्ता कार्यले युवापुस्तामा मानवसेवा र सहयोगी भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘रक्तदानको महत्वबारेमा थप जागरूकता फैलाउन पनि उत्तिकै मद्दत गर्दछ ।’
संस्थाका अन्तर्राष्ट्रिय पूर्वमुख्य प्रशासनिक राजयोगिनी प्रकाशमणिको १८ औँ पुण्य स्मृति तथा विश्वभ्रातृत्व दिवसका अवसरमा नेपाल र भारतमा ब्रह्माकुमारीका प्राय : सबै स्थानीय सेवा केन्द्रले यही भदौ ६ देखि ९ गतेसम्म अन्तर्राष्ट्रिय रक्तदान शिविरको आयोजना गरेको शाखा प्रमुख अमृत दिदीले जानकारी दिइन् ।








