एमसीसीको विरोध भावनात्मक र तथ्यविहीन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामाथि भइरहेका विरोधलाई भावनात्मक र तथ्यविहीन भएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले एमसीसी कार्यान्वयनपछि नेपालमा अमेरिकी सैनिक अड्डा स्थापनाको आशंका निराधार भएको दाबी गरे ।

उनले भने, ‘एमसीसी परियोजना नेपालमा कार्यान्वयन हुँदा एमसीए अफिस यहाँ बस्दा अमेरिकी सैनिक अड्डा बन्छ भन्ने कुरा तात्विक रुपमा गलत छ । यदि त्यो सत्य हो भने अहिलेसम्म नेपालमा अमेरिकी सैन्य स्टेसन देखिनुपथ्र्यो, तर खोइ त ?’

पाण्डेले अनावश्यक आशंका र विश्लेषणहरूले राष्ट्रको हितमा काम नगर्ने बताउँदै विश्लेषणमा यथार्थपरक र व्यावहारिक दृष्टिकोण राख्नुपर्ने आवश्यकता औंल्याए ।

उनको भनाइमा, ‘अहिले हामी को कसको सहयोग लिने, को कसको नलिने भन्ने विभाजन गर्न सक्दैनौं । नेपालजस्तो विकासोन्मुख देशलाई एमसीसी पनि चाहिन्छ, बिआरआई पनि चाहिन्छ । सबै प्रकारका सहयोगले मात्रै देश अघि बढ्छ ।’

एमसीसीको विरोध मुख्यतः अमेरिकी सैन्य प्रभाव विस्तारको आशंकामा केन्द्रित भएको स्मरण गरे । ‘यो वनको बाध होइन, मनको बाध हो। मनले बनाएका डरहरूले हामीलाई नै असर पु¥याएको छ’ उनले भने ।

उनले चीनको प्रसंग कोट्याउँदै थपे, ‘अमेरिकाले नेपाललाई घेरिहाल्यो भनेर हामी जोगाउने प्रयत्न गर्छौं । तर के हामीले जोगाएर चीन जोगिने हो ? चीन आफैं सक्षम छ, हाम्रा भ्रममा आधारित विश्लेषण व्यर्थ छन् ।’

नेपालले कुनै एक देशको पक्ष लिएर अर्को देशको सहयोग अस्वीकार गर्नु रणनीतिक गल्ती हुने पाण्डेको तर्क छ । उनले दातृ निकाय वा साझेदार राष्ट्रहरूसँग सहकार्य बढाउँदै लैजानु नै दीर्घकालीन हितमा हुने स्पष्ट गरे ।

‘कसैको सहयोग नलिने भनेर चित्त बुझाउने कुरा होइन । यथार्थमा हेर्दा, सबैको सहयोगले मात्र नेपाल समृद्ध हुन्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seven =