संविधान असफल भयो भने अकल्पनीय द्वन्द्व सुरु हुन सक्छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन् ।
आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले संविधानको असफलता मुलुकका लागि गम्भीर परिणाम लिएर आउने उल्लेख गर्दै संविधान जोगाउनु र समयअनुसार परिमार्जन गर्नु अत्यावश्यक भएको बताए ।
२० वर्ष लगाएर बनाएको संविधान असफल भयो भने पुनः अर्को २० वर्षसम्म पनि संविधान निर्माण सम्भव नहुने दाबी गर्दै गृहमन्त्री लेखकले भने ‘संविधान असफल भयो भने यस्तो अकल्पनीय द्वन्द्व सुरु हुन्छ, जसको प्रभाव भयावह हुन सक्छ । अहिले नै संघीयता भित्रै प्राकृतिक स्रोत र अधिकारको बाँडफाँडमा द्वन्द्व देखा पर्न थालेका छन् ।’
उनले हाल देखिन थालेका केही लक्षणहरूलाई संविधानप्रति बढ्दो असन्तुष्टिको सङ्केतका रूपमा व्याख्या गर्दै वर्तमान संविधानका केही पक्षहरूमा व्यापक सुधार आवश्यक रहेको धारणा राखे ।
गृहमन्त्री लेखकका अनुसार नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार गठनका बेला संविधान संशोधनको विषयमा सहमति भएको भए पनि एक वर्षसम्म त्यो दिशामा ठोस प्रगति हुन नसक्नु दुर्भाग्यपूर्ण भएको स्वीकार गरे ।
उनले भने ‘आज हामी द्वन्द्वको कुरा गर्दैछौं, तर संविधान असफल भयो भने त्यो द्वन्द्वको स्वरूप अकल्पनीय हुनेछ । त्यसैले संविधानको रक्षा र समयसापेक्ष सुधार नै आजको आवश्यकता हो ।’
संविधान निर्माणको क्रममा सबै विषय समेट्न नसकिएको स्वीकार गर्दै उनले हाल देखिएका कतिपय प्रश्नहरूलाई जायज र स्वाभाविक बताएका छन् । संविधानलाई समय र समाजको विकाससँगै सँगसँगै अगाडि बढाउन आवश्यक परिमार्जन र उन्नयन आवश्यक रहेकोमा उनको जोड थियो ।








