एमसीसीले नेपाललाई भारतीय एकाधिकारतर्फ धकेल्छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको सार्वभौमसत्ता, भू-राजनीतिक सन्तुलन र संविधानको भावनाविपरीत रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा नेता खनालले एमसीसी सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीतिलाई अघि बढाउने उपकरण भएको आरोप लगाए । यसले चीन र भारतसँगको नेपालको भू-राजनीतिक सन्तुलनमा गम्भीर असर पुर्याएको उनको भनाइ थियो ।
खनालले एमसीसी सम्झौता संसदबाट असामान्य ढंगले अनुमोदन भएको समेत उल्लेख गरे । संसदमा पर्याप्त छलफल नै नगरी एमसीसी पारित गरिएको घटनालाई एक आश्चर्यजनक नाटकको संज्ञा दिँदै उनले यसले लोकतान्त्रिक मूल्यमान्यताको उल्लङ्घन गरेको बताए ।
राजनीतिक दलहरूको दोहोरो भूमिकाका कारण राष्ट्रवादी अडान लिएका विद्यार्थी, युवा र बुद्धिजीवीहरूले दुःख पाएको उनको टिप्पणी थियो । एमसीसी सम्झौताले नेपाललाई भारतसँग मात्र विद्युत व्यापार गर्न बाध्य पार्ने उल्लेख गर्दै यसले भारतीय एकाधिकारलाई बलियो बनाउने खतरा औंल्याए ।
सम्झौता कार्यान्वयनबारे अस्पष्टता रहेको र संसदमा यसबारे कुनै चर्चा नहुनु आश्चर्यजनक रहेको उनले बताए । एमसीसीबारे पुनर्विचार गर्नुपर्ने आवश्यकतामा जोड दिँदै नेता खनालले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई चुनौती दिने कुनै पनि प्रावधान स्वीकार्य नहुने स्पष्ट पारे ।








